प्रधानमन्त्री कार्की र स्थानीय जनप्रतिनिधिबीच छलफल, निर्वाचनको तयारीबारे परामर्श
करारका कर्मचारी राख्न नपाएकोबारे स्थानीय जनप्रतिनिधिले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते ०५:४७
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका कामकारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी थिइन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो । आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरुको धारणा थियो ।
स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता व्यक्त गरे ।
छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो । गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्नसक्ने सहयोगका निम्ति आग्रह गरे ।
सरकारले केही हतियार र करिब पाँच हजार कैदीबन्दीको खोजी गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउनका निम्ति सहयोग गर्न उनले आग्रह गरे ।
स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनीहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले समन्वय र सहकार्यबाटै अघि बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् । उनले भनिन्, “निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईँहरुसँग समन्वय र सहकार्य नगरी हुन्न । तपाईँहरुका चासो हामी सम्बोधन गर्छौं । गर्नैपर्छ । चिन्ता नगर्नुहोस् । आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस् । अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ ।” दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उनले स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिइन् । राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य रहेको उनको धारणा थियो ।
सो छलफलमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।
Facebook Comments