हिउँमा फसेका उपल्लो डोल्पाका ५ प्रहरीको सेनाले गर्यो उद्धार
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
सुर्खेत । डोल्पाको उपल्लो क्षेत्रमा हिउँमा फसेका पाँच जना प्रहरी अधिकारीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित रूपमा उद्धार गरिएको छ । डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उनीहरूको उद्धार गरिएको हो ।
उद्धार गरिएका प्रहरी अधिकारीहरूमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवलदार मणिराज जोशी, प्रहरी हवलदार जनकबहादुर कार्की, प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेका छन् । उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काका अनुसार, नाम्दोबाट धो हुँदै दुनैका लागि हिँडेका उनीहरूलाई करिब ३६ घण्टापछि हिउँ र अत्यधिक चिसोका कारण हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गर्नुपरेको हो ।
उद्धार गरिएका पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य स्वास्थ्य जाँच गरिएको थियो । अहिले उनीहरूलाई थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।
Facebook Comments