आर्थिक अभावका कारण दृष्टिविहीन छोरीको उपचार गराउने गगनको सपना अधुरै

हजुरआमा भन्छिन्–नातिनीको आँखाका लागि हात जोडेर सहयोग माग्दै हिँडिरहेकी छु

User Image डीबी विष्ट | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/b_3.jpg

बझाङ । थलारा गाउँपालिका–५ का गगनबहादुर दमाई र सुनितादेवी दमाईको कोखबाट जन्मिएकी एक वर्षीया छोरीको नाम हो, रोशनी दमाई। जन्मिएको बेला परिवारमा खुशी भए पनि विस्तारै थाहा हुँदै जाँदा रोशनी जन्मजात नै दृष्टिविहीन भएको पत्ता लाग्यो। दुबै आँखाले नदेख्ने भएपछि परिवारको खुसी एकाएक दुःखमा बदलियो।

रोशनीको उपचारका लागि उनका बुबा गगनबहादुर दमाईले सक्दो प्रयास गरे। उनले छोरीलाई जिल्ला अस्पताल बझाङ लगे, जहाँबाट गेटा आँखा अस्पताल, कैलाली रिफर गरियो। रिफर भएको एक महिनापछि मजदुरी गरेर जम्मा गरेको पैसा र आफन्तहरूको सहयोग लिएर उनी गेटा अस्पताल कैलाली पुगे।

तर त्यहाँ उपचारका क्रममा जम्मा भएको सबै पैसा सकिएपछि चिकित्सकले दिएको सल्लाहअनुसार छोरीलाई तिलगंगा आँखा अस्पताल, काठमाडौं लैजान नसकेर उनी बाध्यतावश घर फर्किनुपर्‍यो। आर्थिक अभावका कारण उपचार निरन्तर गर्न नसक्दा गगन निकै निराश छन्।

उनका अनुसार छोरीको उपचारका क्रममा करिब ३०–४० हजार रुपैयाँ खर्च भइसकेको छ, त्यो पनि ऋण र मजदुरीको भरमा। अहिले पनि ऋणकै कारण उनी मानसिक रूपमा तनावमा छन्। गाउँमा बेच्नलायक जग्गा–जमिन केही छैन। बाजे–बुबाकालदेखि नै उनीहरूको परिवार हलियाको काम गर्छ, खलो मागेर पेट भर्छ। गगन अहिले पनि त्यही काम गरेर जीविका चलाइरहेका छन्।

गगन ३ वर्षकै हुँदा उनका बुबाको निधन भएको थियो। हाल उनीसँग श्रीमती, बुढी आमा र छोराछोरी मात्रै छन्। उनका दुई भाइ रोजगारीका लागि भारतमा छन्। छोरीलाई कैलाली लैजाँदा भाइहरूले सहयोग गरे पनि अहिले काठमाडौंसम्म उपचार पुग्ने खर्च जुटाउन नसकेको गगनले बताए।

गेटा आँखा अस्पतालका चिकित्सकहरूले रोशनीलाई काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उपचार गराउन सुझाएका छन्। तर आर्थिक अभावका कारण रोशनीको उपचार अधुरै रहेको छ।

रोशनी मात्र होइन, गगन स्वयं पनि दायाँ आँखाबाट देख्दैनन्। सानाे बेला आँखामा आएको सानो दाना ठूलो हुँदै जाँदा दृष्टि नै गुमाएको उनकी आमा जुनादेवी दमाई बताउँछिन्।
उनले भनिन्,“दाना बढ्दै जाँदा फुट्यो, अनि आँखै बन्द भयो। पैसा नभएर उपचार गराउन पाइनौँ। घरेलु जडीबुटीले केही काम गरेन।”

यस्तै, गगनकी श्रीमती सुनीतादेवी दमाईलाई पनि आँखासम्बन्धी समस्या छ। उनी टाढाका वस्तु राम्रोसँग देख्न सक्दिनन्। नजिकका भने अलि–अलि देख्छिन्। बेलुकीपख ५ बजेपछि झन् केही नदेख्ने जस्तै हुन्छ। तर गरीबीका कारण उनको उपचार पनि हुन सकेको छैन।

जुनादेवी दमाई भन्छिन्, “हामीसँग पैसा छैन, ऋण माग्न जाँदा कसैले पत्याउँदैन। बेच्नलायक घरबाहेक केही छैन। दैवले कति दुःख दिन सक्छ? नातिनीको आँखाका लागि हात जोडेर सहयोग माग्दै हिँडिरहेकी छु, तर कसैको ध्यान पुगेको छैन।”

रोशनीको जन्मदर्ता गराइसकेपछि अपाङ्ग परिचयपत्र र सामाजिक सुरक्षा भत्ता पाउने आशामा उनीहरू वडा कार्यालय पुगेका थिए। वडाले सानो सहयोग गर्ने भने पनि उपचारको ठूलो रकम जुटाउन नसकिरहेको उनीहरूको भनाइ छ ।

गगन दमाई भन्छन्, “जेनतेन मागेर भए पनि हामी एक छाक धान्छौँ। तर छोरीको आँखाको लागि चाहिने ठूलो खर्च जुटाउन नसक्दा उपचार रोकिएको छ। साना–साना सहयोगले भए पनि छोरीको आँखा फर्किन सक्छ भन्ने आशा छ।”


Facebook Comments