भैंसीपालन अनुदानमा लाखौँ रकम हिनामिना: किसानलाई २५ प्रतिशत, बाँकी 'भ्रष्ट'को खल्तीमा

User Image मुकेशकुमार यादव | २०८२ कार्तिक ३० गते ०१:५८
Image of https://mayorsap.com/storage/photos/shares/bhaisi-anudan.jpg

सिरहा । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय बर्दिबास, महोत्तरीद्वारा सिरहाको गोलबजार नगरपालिका ९, डण्डाटोलमा सञ्चालित भैंसीपालन कार्यक्रममा ठूलो अनियमितता भएको तथ्य बाहिरिएको छ ।

स्थानीय कृष्ण कृषक समूहमार्फत सञ्चालित यो कार्यक्रममा किसानका नाममा आएको सरकारी अनुदान रकम समूहका पदाधिकारी र कार्यालयका कर्मचारीहरूको मिलेमतोमा हिनामिना भएको किसानहरूले आरोप लगाएका छन् ।

२५ जना किसानका लागि भैँसी खरिद, गोठ निर्माण, गोबर–मूत्र संकलन तथा दुग्ध उत्पादनका सामग्री खरिदमा ५०/५० प्रतिशत लगानी गर्ने सम्झौता भए पनि अनुदान रकममा ठगी भएको छ ।

‘किसानलाई भैँसी, गोठ र सामग्री दिने भन्दै रकम उठाइयो’, स्थानीय किसान जिवछ पासवानले भने, ‘तर ४० हजार मात्र दिइयो, बाँकी रकम कता हरायो थाहा छैन ।’ यस्तै, अर्का किसान लक्ष्मण यादव भन्छन्, ‘कार्यालयले किसानका लागि अनुदान दिएको हो कि समूहका अध्यक्षका लागि? किसानका नाममा आएको रकम पनि उनीहरूले नै खाए । गोठ निर्माणको लागी हामीलाई प्रत्येक गोठ बापत ८२ हजारको दरले सबै किसानसँग जम्मा गरायो । तर , दिने बेलामा ४० हजार मात्रै दियो ।’

समूह दर्ता भएको छोटो समयमै ठूलो अनुदान पाउन सफल भए पनि कृष्ण कृषक समूह अहिले पनि झोलामै सीमित रहेको खुलेको छ । किसानलाई दिइएको ४० हजार रुपैयाँको समेत भरपाई नगरेको र सबै कुरा कागजमै मिलाइएको किसान दोरिक यादवले बताए ।

समूहले भैँसी खरिद र अन्य सामग्रीका लागि किसानबाट करिब ३१ लाख ५० हजार रुपैयाँ संकलन गरेको थियो भने कार्यालयले ३० लाख ७५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भनिएको थियो । तर, ५० प्रतिशत अनुदानको सट्टा २५ प्रतिशत मात्र पाएको किसान बताउँछन् ।

सोही कार्यालयले धनगढीमाइ नगरपालिका १० स्थित लवकुश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पनि ५० जना किसानका लागि पशुपालन तथा दुग्ध उत्पादन कार्यक्रमका लागि १ करोड रुपैयाँको अनुदान दिएको छ ।

यहाँ पनि भैँसी गोठ निर्माण कार्य सम्पन्न भए पनि कार्यालयको एस्टिमेट अनुसार काम नगरी किसानले आफ्नै खुसीले कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । धनगढीमाइ ८ कसहाका किसान राम प्रसाद महतो आफैँले कमसल सामग्री प्रयोग गरिएको स्वीकार गरेका छन् ।

यद्यपि, सहकारी संस्थाका कार्यक्रम अध्यक्ष धर्मनाथ महतोले कुनै किसानले कमसल काम गरेको पाइए संस्थाबाट निर्णय गरेर उसले पाउने सम्पूर्ण अनुदान कट्टा गरिने दाबी गरेका छन् ।

उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय, बर्दिबासका प्रमुख राजेश साहले आफ्नो कार्यालयको तर्फबाट भने किसानलाई दिनुपर्ने सबै रकम पठाइसकेको दाबी गरेका छन् ।

साह भन्छन्, ‘हामीले किसानलाई दिनुपर्ने सबै रकम पठाइदिएका छौँ । किसानको हिसाब गरेर सम्पूर्ण रकम एकमुष्ट समूहको खातामा पठाइएको हो । तर, कृष्ण कृषक समूहका कर्मचारी तथा पदाधिकारीले किसानले पाउने रकममा मिलेमतो गरी अनियमितता गरेको पाइएमा, हामी उनीहरूलाई कारबाहीका लागि सिफारिस गर्नेछौँ ।’

हेर्नुहोस् भिडिओ:

 


Facebook Comments