उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको जोखिमः तीन दिन बन्द भएका विद्यालय खुले

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १ गते १३:४७
Image of https://mayorsap.com/storage/photos/shares/umakunda.PNG

रामेछाप । विद्यार्थीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिन थालेपछि बढेको स्वास्थ्य जोखिमका कारण बन्द गरिएका उमाकुण्ड गाउँपालिकाका विद्यालयहरू आजदेखि पुनः स्वास्थ्य सावधानीसहित संचालनमा आएका छन् । 

फ्लुका कारण गाउँपालिकाले कात्तिक २८ देखि ३० गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको थियो  । 

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाका अनुसार स्थानीय विद्यालयमा भाइरल फ्लुको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि कक्षा स्थगित गरिएको थियो। ‘आजदेखि सबै विद्यालय खुलेका छन्, तर विद्यार्थीको उपस्थिति सामान्यभन्दा कम देखिएको छ,’ उनले भने । 

गाउँपालिकाले फ्लुको जोखिम अझै नसकिएको भन्दै अनिवार्य मास्क प्रयोग, कक्षाकोठामा नियमित स्यानिटाइजेसन, भीडभाड कम गर्ने जस्ता स्वास्थ्य सावधानी अनिवार्य रूपमा अपनाउन सबै विद्यालयलाई निर्देशन दिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार भाइरल फ्लुको सामान्य प्रकृतिका लक्षण भएकाहरूलाई तीन दिन घरमै विश्राम गराएपछि जोखिम न्यून देखिने भएकाले आजदेखि पठनपाठन सुचारु गरिएको हो । 

यसैबीच, गम्भीर लक्षण देखिएका पाँच जनाको नमुना ‘स्वाब परीक्षण’का लागि काठमाडौं पठाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ। परीक्षणको रिपोर्ट आइसकेपछि आवश्यक थप कदमहरूबारे निर्णय हुने जनाइएको छ ।


Facebook Comments