विप्लवलाई गुलाफको फूल : पहिलो निर्वाचनमा प्रवेशका संकेत
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते २३:१९
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई निर्वाचन आयोगले आगामी निर्वाचनका लागि चुनाव चिन्ह ‘गुलाफको फूल’ प्रदान गरेको छ। दशक लामो भूमिगत राजनीतिक यात्रा, विभाजन, वैचारिक कठाेरता र पछिल्लो शान्ति प्रक्रियामा प्रवेशपछि पहिलोपटक औपचारिक रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको विप्लव समूहका लागि यो निर्णय महत्वपूर्ण मोड मानिएको छ।
विप्लव समूह विगतमा सशस्त्र गतिविधि, सरकारी संरचनामाथि आक्रमण र वैचारिक कठोरताका लागि चिनिएको थियो। तर, पछिल्लो समय शान्ति समझदारीमा आएपछि यो समूह नियमित प्रतिस्पर्धी दलको रूपमा अघि बढ्ने प्रयासमा छ। निर्वाचन आयोगद्वारा प्रदान गरिएको गुलाफको फूललाई विश्लेषकहरूले “कठोर राजनीतिक बाटोबाट लोकतान्त्रिक प्रक्रियातर्फ सरेको संक्रमणको प्रतीक” का रूपमा व्याख्या गरेका छन्।
गुलाफको फूल सामान्यतया प्रेम, कोमलता र परिवर्तनको प्रतीक मानिन्छ। विप्लव समूहले आफूले विगतका कठोर गतिविधि अन्त्य गर्दै नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको सन्देश दिन यो चिन्हले सहयोग गर्ने धारणा पनि पार्टीका नेता-कार्यकर्ताले सार्वजनिक रूपमा राखिरहेका छन्।
शान्ति प्रक्रियामा आएपछि पहिलोपटक निर्वाचनमार्फत जनतामाझ जाने तयारीसहित विप्लव समूह विभिन्न जिल्लामा संगठन विस्तार, उम्मेदवारी छनोट र जनसम्पर्क अभियानमा सक्रिय देखिएको छ। आगामी निर्वाचनमा यो पार्टीको परिणाम कस्तो आउनेछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।
Facebook Comments