परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशु फालेको आरोपमा युवती पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १३:४७
रुपन्देही । परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशु फालेको आरोपमा प्युठान प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
मंसिर १ गते बिहान स्थानीयले बुक्तिचौरस्थित गहुँ बारीमा शिशुको शव कुकुरले डुलाउँदै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा शिशु बिपना सुनारको भएको खुल्यो । उनका श्रीमान् विदेशमा रहेको बताइएको छ ।
प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार बिपनाले परपुरुषसँगको सम्बन्धबाट छोरीलाई जन्म दिएको र पोल खुल्ने डरले चार दिन पहिले नवजात शिशुलाई गहुँ बारीमा फालेको बयान दिएकी छन् ।
उनलाई शिशुको शव फेला परेको दिन दिउँसो नै नियन्त्रणमा लिइएको थियो । नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको र मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ ।
Facebook Comments