सम्पादकीय- एमालेले ओली र महेश बस्नेतकाे जेनजी समूहविराेधी बाेलीमा लगाम लगाओस् !
परिवर्तनमा छेडखानी नहाेस् !
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते ०२:४०
याे सरकार बन्नुभन्दा पहिला एमाले र कांग्रेसजस्ता ठूला दलकाे शक्तिशाली सरकार थियाे । प्रधानमन्त्री थिए ओली । उनका टिका टिप्पणी र छेडखानी त हामीले बर्षाैदेखि सुन्दै आएकाे हाे । उनकाे बेला बेला फुत्किने 'छुद्र' बाेली र व्यवहारले नै दुई तिहाईकाे सत्ताबाट ओलीलाई सडकमा पुर्याएकाे हाे । सत्ताबाट सडकमा 'नाङ्गेझार' हुनेगरी फ्याँक्दा पनि ओलीकाे बेला बेला फुत्किने 'छुद्र' बाेली राेकिएकाे देखिँदैन ।
आफैँले चलाएकाे सत्ताविरूद्ध भएकाे आन्दाेलनमा चलेका गाेली प्रहरीकाे नभएकाे भनेर आफ्नाे बचाउ थालेका ओली अहिले महेश बस्नेतकाे संरक्षणमा पुरानै शैलीमा युवा पुस्ताविरूद्ध खनिएकाे जेनजी समूहका धेरैलाई मन परेकाे छैन । अझ जेनजी समूहले खाेजेका परिवर्तन उल्टाउने भन्दै धम्कीपूर्ण भाषा प्रयाेग गरेकाे त मन पर्ने कुरै भएन । खासमा भदाै २३ र २४ गतेकाे घटनामा जिम्मेवार रहेकाे अभियाेगमा प्रहरीकाे हिरासतमा रहनुपर्ने ओली त्यसबाट छुट पाउँदा पनि जेनजी समूहकाे छेडखानीमा उत्रिनु नै ओली र एमालेविरूद्ध सामाजिक सञ्जालदेखि सडकसम्म द्वन्द्व र झडप फैलनु हाे ।
त्यसमा घ्यू थप्ने काम विवादित महेश बस्नेतले गरिरहेका छन् । उनकाे बाेली यति दम्भपूर्ण र अराजक छ कि उनी गर्दनमा खुकुरी राख्ने, ठाेक्ने, कुट्ने जस्ता अभिव्यक्ति दिइरहेका हुन्छन् । एमालेकाे भातृ संगठन युवा संघका सदस्यहरू बाेलाएर अघिपछि हिँड्न लगाउँछन् र रातिराति पनि भक्तपुरकाे गुण्डुमा बाटोमा सवारीसाधन चलाउने व्यक्तिहरूकाे सवारी चेकजाँच गर्न तीनै युवाहरूलाई खटाउँछन् । २०५२ देखि २०६५ सम्म फैलिएकाे गुण्डाराजकाे शैलीमा भक्तपुरकाे गुण्डुमा क्रियाकलाप विस्तार गरेका बस्नेत उसै पनि एक महिलालाई जबर्जस्ती करणी गरेकाे र शक्तिकाे भरमा छानबिनबाट भागेकाे अभियाेगमा आलाेचित छन् ।
स्वभावैलै याे आन्दाेलनबाट उनकाे व्यक्तिगत सम्पत्तिमा क्षति भएकाेमा पीडा हाेला । तर जेनजी समूहले ल्याएकाे परिवर्तनविरूद्ध बाेलेर उनकाे पीडामा मल्हम लाग्ने अवस्था नरहेकाे उनले बुझेकै छन् । तर पनि ओलीलाई भदाै २३ र २४ काे घटनामा पक्राउ गर्ने रणनीतिविरूद्ध उत्रिएका उनले जेनजी भावना विरूद्ध बाेल्दा आफू र पार्टी दुवै बदनाम हुन्छ भन्ने भेउ पाउन सकेका छैनन् । उनका जेनजी समूहविरूद्धका यिनै अभिव्यक्ति नै बारा सिमरा झडप र उनलाई त्यहाँ जान नपाउने निषेधकाे कारण बनेकाे छ । के ओली र महेश बस्नेतले चुनावकाे वातावरण बिथाेल्न त्यसरी जेनजी युवा समूहमाथि छेडखानी गरिरहेका हुन् ? हाेइनन् भने आजकाे घटनाबाट ओली र महेश बस्नेतले पाठ सिक्नुपर्छ । माफी माग्नुपर्छ र बाेलीमा लगाम लगाउनुपर्छ ।
आजको राजनीतिक परिदृश्यमा जेनजी पुस्ताले उठाएका माग, उनीहरूको शैली र परिवर्तनको व्याख्याप्रति विभिन्न राजनीतिक दलहरू संवेदनशील बन्नु आवश्यक छ। यसमा जेनजी समूह पनि उत्तिकै संवेदनशील बन्न आवश्यक छ ।
हरेक पिँढीले आफ्नो समयअनुसार आवाज उठाउँछ, चुनौती दिन्छ र सुधारको माग गर्छ । त्यसैले, जेनजी पुस्ताको हरेक आवाज ‘अराजकता’ होइन, सामाजिक–राजनीतिक चेतनाको उत्कर्षका रूपमा बुझिनुपर्छ।
ओली र महेश बस्नेतजस्ता शक्तिशाली व्यक्तिहरूले युवा पुस्ताको अभिव्यक्तिलाई अपमान, उपहास र धम्कीपूर्ण भाषामा उत्तर दिनू उनीहरूको विगतको राजनीतिक संस्कृतिको पुनरावृत्ति मात्र हो । २०७२ पछि मुलुकले जुन लोकतान्त्रिक अभ्यासको बाटो समात्नुपर्ने हाे, सत्ता र नागरिकबीच जसरी संवाद र सम्मानलाई प्राथमिकता दिनुपर्ने हाे त्याे नभएरै आजकाे अवस्था आएकाे हाे। यत्राे आन्दाेलनपछिकाे बदलिँदाे परिदृश्यमा पनि पछिल्लो समय एमाले नेतृत्वको भाषाशैलीले त्यही अभ्यासमा पुनरावृत्त हुन अराजकता माैलाउन दिनु हाे।
युवाहरूले उठाएका मुद्दा स्पष्ट छन्— उत्तरदायी नेतृत्व, पारदर्शिता, सामाजिक न्याय, समानता र हिंसारहित सुव्यवस्थित शासन संरचना। तर यी मुद्दालाई ‘समाज बिथ्योल्ने षड्यन्त्र’ भनेर व्याख्या गरिनु पुरानै राजनीतिक मानसिकताको अभिव्यक्ति हो । अहिलेकाे बदलिँदाे परिस्थितिमा एमालेजस्ताे पार्टीले देशमा कस्ताे राजनीतिक सामाजिक व्यवस्था आवश्यक छ ? कहाँ कहाँ सुधार आवश्यक छ ? अर्थतन्त्र कसरी सुधार्न सकिन्छ ? युवा पुस्तालाई राजनीतिमा कसरी स्थान दिन सकिन्छ ? नेपालकाे विदेश नीति कहाँ कहाँ सुधार्न आवश्यक छ ? राेजगारी कसरी सिर्जना गर्न सकिन्छ ? बजार व्यवस्थापन र उत्पादन कसरी बढाउन सकिन्छ ? नेपालकाे प्रशासनकाे सुधार कसरी र कहाँ कहाँ गर्न आवश्यक छ ? भन्नेजस्ता विषयलाई छलफलमा ल्याउनुपर्थ्याे । त्यसकाे बदलामा एमाले आफूले गरेका काम सबै ठिक थिए, अहिलेकाे सरकारले केही गरेन, हाहुकाे सरकार भनेर गलत दिशातिर गइरहेकाे छ ।
आन्दोलनलाई अपमान गर्ने एमालेकाे यही शैलीकाे प्रतिराेध मंसिर ३ मा भएकाे बारा सिमराकाे घटना हाे । ओली र बस्नेतका पछिल्ला टिप्पणीहरू केवल जेनजी विरुद्ध होइनन्, समग्रतामा नयाँ सोच र नयाँ राजनीतिक चेतनाविरुद्धका प्रहार हुन्। नेताले जब जनतालाई चुनौतीका रूपमा देख्न थाल्छन्, त्यहीबाट अस्थिरता सुरु हुन्छ।
एमाले नेतृत्वले बुझ्नैपर्छ— जनताको मनोविज्ञान बलले होइन, संवाद र जिम्मेवारीले जितिन्छ। धम्की, दम्भ र अराजक भाषाले न त पार्टीलाई लाभ गर्छ, न नेताको छवि निर्माण हुन्छ। उल्टै यसले आगामी निर्वाचनमै ठूलो मूल्य तिर्नुपर्ने अवस्था बनाउँदै लैजान्छ ।
महेश बस्नेतले बारामा जान नपाउनु, स्थानीय स्तरमा भएको प्रतिरोध र सुरक्षाकर्मीको कडाइ— यी सबै घटनाहरू केवल आन्दोलित युवाको प्रतिक्रिया मात्र होइन, एक असहज राजनीतिक सन्देश पनि हुन्। सन्देश स्पष्ट छ— अभद्रता, दमन र एउटा पुस्ताको छेडखानी ‘नयाँ नेपाल’ ले स्वीकार्दैन।
प्रश्न अब केवल ओली वा बस्नेतको व्यवहारमा होइन, पार्टीकै राजनीतिक संस्कृतिमा छ। यदि एमालेले यी दुवै नेताका अनियन्त्रित, उत्तेजक र विभाजनकारी वक्तव्यमा गम्भीरता लिएर आजै लगाम लगाएन भने, यो राजनीतिक क्षति केवल आजको झडपमा सीमित हुने छैन— दीर्घकालीन रूपमा पार्टीको संगठन, लोकप्रियता र आगामी पुस्तासँगको सम्बन्ध नै ध्वस्त हुन सक्छ।
अन्त्यमा, एमाले नेतृत्वले एकपटक 'युवापुस्ता शत्रु होइन, भविष्य हो, राजनीति धम्कीले होइन, विश्वासले टिक्छ' भनेर गम्भीर पुनरवलोकन गर्न आवश्यक छ । सबैलाई थाहा नै छ, परिवर्तन रोकिन्न; रोकिन खोज्नेहरू मात्र पछाडि पर्छन्।
अब पनि ओली र बस्नेतले माफी मागेर आफ्नो गैर–राजनीतिक, असंयमित भाषाशैली सुधार्न सके भने राजनीतिक संवादको बाटो खुल्न सक्छ। नसके— जेनजी पुस्ताले इतिहासले दिएको अवसरमा उनीहरूको पिँढीगत आवाज अझ शक्तिशाली बनाउँदै अघि बढ्नेछ। अहिलेकै शैली पछ्याएर हिँडे एमाले पछि पर्दै जाने निश्चित छ ।
Facebook Comments