राष्ट्रपतिलाई जेन-जी समूहले भन्यो– तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाइयोस्
सरकार चुनावमा केन्द्रित भएको गुनासो
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते २१:५३
काठमाडौं । विभिन्न २३ वटा जेन–जी समूहहरूले वर्तमान राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेन–जी विद्रोहको जगमा बने पनि यो केवल चुनावमा मात्र केन्द्रित भएको गुनासो गरेका छन् ।
ज्ञापन पत्रमा प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही गर्नेजस्ता मागहरू पुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
जेन–जी समूहहरूले सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।
‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘विद्रोहमा संलग्न २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ।’
ज्ञापनपत्र बुझाउनेमा जेन–जी नेशनल फ्रन्ट लाइनर, जेन–जी स्पार्क, एनटेक जेन–जी, ऋणी एसोसिएसन, जेन–जी वाई युनाइटेडलगायतका समूहहरू रहेका छन् ।
Facebook Comments