बाजुरा स्वास्थ्य कार्यालयका पूर्व प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रसूति केन्द्र भवन भ्रष्टाचार प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते २१:५२
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar_3.jpg

काठमाडौं । सार्वजनिक सम्पत्ति हिनामिना र दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका इन्जिनियर सुनेशकुमार चौरसिया, सब–इन्जिनियर नरेश रावत र उपभोक्ता समितिका तीन पदाधिकारी अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया, कोषाध्यक्ष खडक ऐडीविरुद्ध मुद्दा दायर गरेको हो ।

बाजुराको हिमाली गाउँपालिका–६ स्थित प्रसूति केन्द्र भवन निर्माणका लागि २६ लाख १५ हजार २०६ रुपैयाँ लगानी भएको थियो । तर, उपभोक्ता समितिले मापदण्डविपरीत, प्रयोगमा ल्याउन नसकिने गरी भवन तयार गरी फर्जी बिल र प्रतिवेदनका आधारमा भुक्तानी लिएको अख्तियारको आरोप छ ।

हाल उक्त संरचना प्रयोगविहीन भई भग्नावशेषमा परिणत हुँदा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी भएको ठहर गरिएको छ । आयोगले आरोपी ६ जनाविरुद्ध जनही १५ लाख ८ हजार ५५७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।


Facebook Comments