१४ वर्षदेखि अधुरो कमला पुल निर्माण ३ महिनाभित्रै सक्ने प्रतिबद्धता
मन्त्री घिसिङको स्थलगत निरीक्षण
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०६:३५
सिराहा । धनुषा र सिराहालाई जोड्ने कमला नदीमाथिको अधुरो पुल मन्त्रीस्तरीय हस्तक्षेपपछि अबको तीन महिनाभित्रै सम्पन्न हुने भएको छ । हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा सुरु भए पनि १४ वर्षसम्म अपूरै रहेको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शुक्रवार पुल निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै स्वयम् डुङ्गा चढेर नदी पार गरी स्थानीयले वर्षौंदेखि भोग्दै आएको कष्ट प्रत्यक्ष अनुभव गरे ।
मन्त्री घिसिङले सामाजिक सञ्जालमा स्थानीयको दैनिक सास्ती, जोखिम र आक्रोश देख्दा मन भारी भएको उल्लेख गर्दै अनुगमनबाट गहिरो अनुभूति मिलेको बताएका छन् ।
उनले तत्काल आवतजावत सहज बनाउन अस्थायी विकल्पबारे आवश्यक प्रक्रिया अघि बढाउने र मन्त्रीस्तरीय अनुगमन निरन्तर चलिरहने स्पष्ट पारे ।
पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष तीन महिनाभित्र पुलको काम सकेर सञ्चालनमा ल्याउने लिखित प्रतिबद्धता व्यक्त गरे ।
पप्पु कन्ट्रक्सनले अलपत्र पारेपछि लुम्बिनी बिल्डर्सले काम गर्दै आएको कूल ४६९ मिटर लम्बाइको यो पुलको हालसम्म ८३ प्रतिशत भौतिक प्रगति भएको छ ।
मन्त्रीको टोलीमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूका साथै जेन–जी अगुवाहरू पनि सहभागी थिए ।
Facebook Comments