वडाध्यक्ष अधिकारीलाई मेयर लामाको निर्देशन : वडाध्यक्षको रूपमा कामकाज नगर्नू
एमालेबाट निर्वाचित वडाध्यक्ष अधिकारी पदमुक्त
मेयरसाप डेस्क
|
२०८२ मंसिर ९ गते ०१:४१
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नेकपा एमालेबाट निर्वाचित वडा नम्बर ७ का वडाध्यक्ष केशव अधिकारीलाई पार्टीले कारबाही गरेको आधारमा गत शुक्रबारबाट लागू हुने गरी वडाध्यक्षको रूपमा कामकाज सञ्चालन नगर्न–नगराउन निर्देशन दिएका छन् ।
वडाध्यक्ष अधिकारी २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदबाट निर्वाचित भएका थिए । लामो समयदेखि पार्टीभित्रको आन्तरिक विवादका कारण अधिकारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।
नगर प्रमुख लामाद्वारा जारी गरिएको पत्रअनुसार, वडाध्यक्षको उक्त राजीनामा जिल्ला पार्टी कमिटीको २०८२ असोज ११ गतेको विस्तारित बैठकबाट स्वीकृत गरिएको थियो । सोही बैठकले वडाध्यक्ष अधिकारीलाई वडाध्यक्षको रूपमा स्वीकार नगर्ने निर्णय समेत गरेको थियो ।
नगर प्रमुख लामाले यही पार्टीको निर्णयलाई आधार बनाउँदै राजनीतिक दल सम्बन्धी ऐन–२०७३ परिच्छेद को दफा ३०, ३१ र ३२ मा भएको व्यवस्था बमोजिम कारबाही भएको भन्दै वडाध्यक्षलाई कामकाजबाट अलग रहन निर्देशन दिएका थिए ।
नगर–प्रमुखको निर्देशनमा तत्काल वडाको काममा अवरोध नआओस् भन्नका लागि वडा नम्बर ७ कै वडा सदस्य बलराम मगरलाई गत शुक्रबारदेखि लागू हुने गरी कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकिएको ब्यहोरा समेत उल्लेख छ ।
Facebook Comments