सर्लाहीमा आ*त्मदाहको प्रयास गरेका पुरुषको उपचारको क्रममा मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १८:५५
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका – २ निवासी ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीको कमान्डमा प्रहरी टोली राति ८ः०० बजे घटनास्थल पुगेको थियो। टोलीले आगोले गम्भीर रूपमा जलेर घाइते भएका उनलाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पु¥याएको थियो।
आगोबाट उनको ९० प्रतिशत शरीर जलेको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ः०० बजे एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।
उपचारकै क्रममा बुधबार राति २ः१० बजे पोखरेलको मृत्यु भएको हो। उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह किन गरे भन्ने बिषय हालसम्म खुलेको छैन। अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Facebook Comments