केन्द्रीय समिति बैठकमा दबाब बढाउन कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज भेला गर्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १९:१७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले नेता गुरुराज घिमिरेको अगुवाइमा भेलाको आयोजना गरिएको हो ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि विशेष भेला सुरु हुनेछ । भेलालाई नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँ लगायत नेताहरूले सम्बोधन गर्ने तयारी छ ।
कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि (मंसिर ११) गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् । कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचन अघि नै नियमित महाधिवेशन वा सो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले भने निर्वाचन अघि महाधिवेशन सम्भव नहुने बताउँदै आएको छ ।
Facebook Comments