हुम्लाका तीन स्थानीय तहमा खटाइयो चिकित्सक, स्वास्थ्य सेवा विस्तार

सेवाको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते २०:१५
Image of https://mayorsap.com/storage/photos/shares/sthaniya-taha_1.jpg

काठमाडौं । कर्णाली प्रदेश सरकारले भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाको समस्या भोगिरहेका हुम्लाका तीन स्थानीय तहमा चिकित्सक जनशक्ति खटाएको छ ।

सामान्य चिकित्सकीय सेवाबाट समेत वञ्चित रहेका हुम्लाका खार्पुनाथ, सर्केघाट र अदानचुली गाउँपालिकामा प्रदेश सरकारले एकसाथ तीन जना चिकित्सक परिचालन गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार खार्पुनाथमा डा. डिजेल यादवले आफ्नो कार्यस्थलमा हाजिर भएर सेवा सुरु गरिसकेका छन् ।

यद्यपि, आवश्यक स्वास्थ्य संरचना निर्माण नभएका कारण सर्केघाटका डा. ईश्वरी पौडेल र अदानचुलीका डा. गणेश जैसी भने हाल जिल्ला अस्पताल हुम्लाबाटै अस्थायी रूपमा सेवा प्रदान गरिरहेका छन् ।

उपचारबाट वञ्चित रहेका हुम्लावासी अब भने निकै उत्साहित छन् । चिकित्सक अभावमा महँगो खर्चमा सदरमुकाम सिमिकोट धाउनुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ ।

संरचना तयार हुने बित्तिकै चिकित्सकहरू कार्यस्थलमा पुग्ने र स्थानीय तह स्तरमै आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा बलियो हुने नागरिकले विश्वास गरेका छन् ।


Facebook Comments