मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, कस्तो छ यादवका लागि अंक गणित ?
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १८:३०
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री यादवको विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेश सभाको बैठक आज बिहान ८ः३० बजे बोलाइएको छ ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ । तर मुख्यमन्त्री यादवको पार्टी एमालेसँग जम्मा २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् ।
नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक प्रदेशसभा सदस्य मुख्यमन्त्रीको पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
सात दलीय गठबन्धनमा भने ७३ सांसद छन् । अहिलेसम्म गठबन्धनका दल एक ठाउँमा छन् । गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।
यसैबीच मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि आफूले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिन लागेको बताएका थिए । “अदालतको फैसलाअनुसार प्रक्रिया हुन्छ र विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेसमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ । ती सबै दलले मलाइ सघाउँछन्”, उनले भने ।
सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेका थिए ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
Facebook Comments