हेटौँडा सडक विस्तारमा अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १५:४९
Image of https://mayorsap.com/storage/photos/shares/makawanapur-1648380536.jpg

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा बाधा पुर्याउने वा व्यवसायीहरूलाई धम्की दिने समूहलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै प्रशासनले सडक डिभिजन कार्यालयको अभियानमा अवरोध नगर्न आग्रह गरेको छ ।

प्रशासनका अनुसार, सडक विस्तार अभियानमा हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको छ र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गते अगावै आफ्ना पसल तथा सामान हटाएर सहयोग गरिरहेका छन् ।

तर, केही व्यक्तिहरूले व्यवसायीलाई धाक–धम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पुर्याउने गतिविधि गरिरहेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘यदि कसैले कानुन बर्खिलाप गरी सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिने छ ।’

सडक डिभिजन कार्यालय मकवानपुरले मङ्सिर ५ गते नै सूचना जारी गर्दै सडक विस्तारका लागि तयारी पूरा भएको जानकारी गराइसकेको छ ।


Facebook Comments