बेलायतमा एक नेपालीलाई बला*त्कारको अभियोगमा २५ वर्ष जेल सजाय

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १५:३०
Image of https://mayorsap.com/storage/photos/shares/pramod-dhakal-uk.jpg

काठमाडौं । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा पिटरबरो बस्दै आएका ४९ वर्षीय नेपाली नागरिक प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्ष जेल सजाय सुनाएको छ ।

अदालतको फैसलाअनुसार, ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा दोषी ठहर गरिएको छ ।

ढकालले १३ वर्षमुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको पुष्टि भएको छ । पीडितमध्ये ८ वर्ष उमेरकी नाबालिकासमेत छन् ।

अदालतले ढकालले स्थानीय समुदायमा विश्वासिलो सदस्य र धार्मिक व्यक्तिको रूपमा बनाएको सहज पहुँचलाई दुरुपयोग गर्दै जघन्य अपराध गरेको ठहर गरेको छ ।

अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् र धेरै पीडित ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य रहेको खुलेको छ । उनले एकै परिवारका एकभन्दा बढी सदस्यमाथि पनि दुराचार गरेको पाइएको छ ।

२५ वर्षको जेल सजायपछि समेत उनलाई थप ८ वर्षसम्म कडा निगरानी (लाइसेन्स) मा राखिने फैसला अदालतले गरेको छ ।

धादिङ पुख्र्यौली घर भई सन् २००६ देखि पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा संलग्न रहेका ढकाललाई स्थानीय नेपालीले ’पण्डित’का रूपमा समेत पुज्ने गरेका थिए ।


Facebook Comments