रत्ननगर नगरपालिकाको मेलमिलाप समितिको अध्यक्षमा अर्याल चयन
१६ वटै वडामा संयोजक तोकियो
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १५:१६
काठमाडौं । रत्ननगर नगरपालिकाको आयोजनामा मङ्गलबार नगरस्तरीय मेलमिलाप समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमबाट समितिको अध्यक्षमा अनिता अर्याल, सचिवमा सङ्गीता खनाल र कोषाध्यक्षमा सम्झना कोइराला चयन भएका छन् । नवगठित समितिलाई निवर्तमान अध्यक्ष भूपेन्द्र अधिकारीले पदसहित माइन्युट हस्तान्तरण गरेका हुन् ।
निवर्तमान अध्यक्ष भूपेन्द्र अधिकारीले आफ्नो दुई वर्षे कार्यकालमा दर्ता भएका एक सय मुद्दामध्ये ९२ वटा मेलमिलापमार्फत् टुङ्गो लगाएको जानकारी दिए । उनले मेलमिलापमा दुवै पक्षको जीत हुने भएकाले कसैलाई अन्याय नहुने बताए ।
नगरप्रमुख प्रलाद सापकोटाले मेलमिलाप समितिमा रहनेहरू निष्पक्ष हुनुपर्नेमा जोड दिँदै दलगत वा व्यक्तिगत निकटताका आधारमा नहेर्न सचेत गराए ।
नवगठित समितिकी अध्यक्ष अनिता अर्यालले छिटोछरितो रूपमा दुवै पक्षको जीत हुनेगरी मेलमिलापलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
यसैबीच, नगरपालिकाले वडा नम्बर १ देखि १६ सम्मका मेलमिलाप वडा संयोजकहरूलाई जिम्मेवारी तोकेको छ ।
Facebook Comments