हेटौँडा विवाद : घर भत्काउने सरकारी अडानविरुद्ध घरधनी आन्दोलित
हेटौँडा । हेटौँडामा पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ दायाँ–बायाँ २५–२५ गज (करिब ५३१ घर) विस्तार गर्ने सरकारी योजनाको विरोधमा घरधनी तथा व्यवसायीहरू आन्दोलित भएका छन् ।
सडक डिभिजन कार्यालयले मङ्सिर २० गतेबाट घर टहरा भत्काउने अडान लिएपछि घरधनीहरूले आज (बुधवार) बुद्ध चोकबाट र्याली निकाली सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन र उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
हेटौँडाको मुख्य बजार क्षेत्रका पसल बन्द गरेर आन्दोलनमा उत्रिएका पीडितहरूले लालपुर्जा र नक्सा पास गरेर बनाएको घर बिना मुआब्जा नभत्काउन चेतावनी दिएका छन् । उनीहरूले घर भत्काउन आएमा प्रतिकारमा उत्रने तयारी गरेको बताएका छन् ।
सडक डिभिजन प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीका अनुसार रातोमाटेदेखि सामरी पुलसम्मको करिब ९.५ किलोमिटर खण्डमा पर्ने ५३१ वटा संरचना हटाइनेछ । जसमा २ बैंक र ३ पेट्रोल पम्प समेत समावेश छन् ।
अधिकारीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि सडक विस्तार अपरिहार्य रहेको र ती संरचनाहरू भत्काउँदा राज्यले मुआब्जा वा क्षतिपूर्ति दिन नपर्ने जानकारी दिएका छन् ।
यता, जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्याउने व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ । राजमार्गको सीमा क्षेत्र खाली गराउने अन्तिम मिति नजिकिँदै गर्दा हेटौँडामा द्वन्द्वको अवस्था सिर्जना भएको छ ।
Facebook Comments