पाटन नगरपालिका–३ को वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
एकलौटी शासन चलाएको आरोप
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १४:०३
काठमाडौं । बैतडीको पाटन नगरपालिका–३ को वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष करूणाकर भट्टले चुनावमा गरेका प्रतिबद्धता पूरा नगरेको र भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष भट्टको कार्यशैली र बजेट परिचालनप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको बताएका छन् । स्थानीय निर्वाचनको प्रचारप्रसारका क्रममा गरिएका वाचा गरेअनुसार एउटा पनि नयाँ विकास योजना वडामा ल्याउन नसकेको स्थानीयको आरोप छ ।
स्थानीय कार्यक्रम तथा गतिविधिमा वडाध्यक्षले जनतालाई सहभागी नै नगराउने गरेको र एकलौटी रूपमा काम गर्ने गरेको स्थानीयको गुनासो छ । वडाध्यक्ष भट्टले जनतालाई भ्रममा पारेको र आफूलाई ‘छोटे राजा’ झैँ प्रस्तुत गरेकाले स्थानीय पीडित बनेको आन्दोलनकारीहरूको भनाइ छ ।
स्थानीय बासिन्दाहरूले वडाध्यक्षको गैर–जिम्मेवार र स्वेच्छाचारी व्यवहारबाट पीडित भएर अन्तिम विकल्पका रूपमा तालाबन्दी गर्नुपरेको बताएका छन् । उनीहरूले तत्काल वडा अध्यक्षले आफ्नो कार्यशैली सुधार गरी जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने माग राखेका छन् ।
तालाबन्दीका कारण वडा कार्यालयबाट हुने सम्पूर्ण सेवा ठप्प भएको छ । स्थानीयको माग सम्बोधन नभएसम्म तालाबन्दी नखुल्ने चेतावनी उनीहरूले दिएका छन् ।


Facebook Comments