बुढानीलकण्ठ नगरपालिका : राम्रो गर्नेलाई पुरस्कार, गलत गर्नेलाई दण्ड

शिक्षामा कायापलट भएको दाबी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १४:१७
Image of https://mayorsap.com/storage/photos/shares/budhanilkantha.jpg

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको १२औँ स्थापना दिवस मङ्गलवार हात्ती गाँडामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठलाई उत्कृष्ट बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकुद क्षेत्रमा ठोस काम भइरहेको दाबी गरे ।

प्रमुख अधिकारीले शिक्षाको बजेट १ करोडबाट बढाएर १३ करोडसम्म पुर्‍याइएको र सङ्घले ५ कक्षासम्म व्यवस्था गरेको दिवा खाजालाई पालिकाले थपेर १० कक्षासम्मका १० हजार विद्यार्थीलाई हप्ताको ६ दिन फरक–फरक खाजा खुवाउने गरेको जानकारी दिए ।

विकास निर्माणमा नतिजा दिने निर्माण कम्पनीलाई सम्मान गर्ने र ७८ सालदेखि सुरु भएका कतिपय काम अझै सुरु नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।

नगरपालिकाले बनाएको नगर अस्पताल बाट दैनिक ३ सयभन्दा धेरै बिरामीले सेवा पाइरहेका छन् । साथै, बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसँग पहल भइरहेको उनले बताए ।

उपप्रमुख अनिता लामाले शिक्षामा नगरपालिकाले कायापलट गरेको दाबी गर्दै गुणस्तरीय शिक्षाका लागि बुढानीलकण्ठ नै जानुपर्छ भन्ने मान्यता स्थापित भएको बताइन् । कार्यक्रममा उत्कृष्ट करदाता, कर्मचारी र उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।


Facebook Comments