राप्तीको जुरेथुम क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्ने तयारी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १८ गते १४:१०
Image of https://mayorsap.com/storage/photos/shares/utkhanan.png

काठमाडौं । नेपाल सरकारले चितवनको राप्ती नगरपालिका–१३ मा चुनढुङ्गा उत्खननका लागि त्रिशक्ति होल्डिङ्स प्रालिलाई राष्ट्रिय वनको करिब ४०० रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । कम्पनीले व्यक्तिको जग्गासहित अब कुल ६०० रोपनी क्षेत्रफलबाट चुनढुङ्गा उत्खनन गर्ने बताइएको छ ।

खानी विभागसँग ३० वर्षको सम्झौता गरेको त्रिशक्तिले गत वर्षको असोज महिनाबाट राप्ती–१३ (जुरेथुम क्षेत्र) र धादिङको बेनिघाट रोराङ गाउँपालिकाबाट चुनढुङ्गा उत्खनन गरिरहेको छ ।

कम्पनीका जनरल म्यानेजर जयराज घिमिरेका अनुसार, वनको जग्गा प्रयोगमा आएपछि हाल दैनिक १ हजार टन रहेको उत्खनन क्षमता बढेर ४५ सय टनसम्म पुग्नेछ । उत्पादित चुनढुङ्गा वासिङ, शिवम्, ऋद्धिसिद्धि सिमेन्ट लगायतका उद्योगले प्रयोग गरिरहेका छन् ।

राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले उत्खननका कारण स्थानीयलाई कुनै हानि नभए पनि स्थानीय, विशेष गरी चेपाङ युवाहरूले सोचेजस्तो रोजगारी नपाएको गुनासो गरे । उनले कम्तीमा १०–१२ जना चेपाङ युवालाई क्षमता अनुसारको रोजगारी दिनुपर्ने माग गरे ।

यता, कम्पनीका जनरल म्यानेजर घिमिरेले भने दक्ष प्राविधिकबाहेक ९० प्रतिशत कर्मचारी स्थानीय नै रहेको दाबी गरे । उत्खनन क्षेत्र बढेसँगै कर्मचारी थप्दा स्थानीयलाई नै प्राथमिकता दिने उनले प्रतिबद्धता जनाए ।


Facebook Comments