भरतपुर महानगरको सुविधासम्पन्न निर्माणाधीन भवन अन्तिम चरणमा

८८ प्रतिशत काम सम्पन्न

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १८ गते १४:११
Image of https://mayorsap.com/storage/photos/shares/bhartpur-mahanagar.png

चितवन । भरतपुर महानगरपालिकाको लामो समयदेखिको आफ्नै भवनको अभाव अब चाँडै अन्त्य हुने भएको छ । महानगरपालिकाले निर्माण गरिरहेको २२१ कोठाको ६ तले आधुनिक भवनको ८८ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार, भवन निर्माणका लागि ५३ करोड ३२ लाख ४१ हजारको लागत अनुमान गरिएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै महानगरपालिकाले अब छिट्टै सम्पूर्ण सेवा एउटै छानामुनिबाट प्रवाह गर्न सकिने बताएकाे छ ।

हाल आफ्नै भवन नहुँदा भरतपुरले विभिन्न ९ वटा भवनहरू प्रयोग गरी नागरिकहरूलाई सेवा प्रवाह गर्दै आइरहेको छ । फरक–फरक स्थानबाट सेवा दिँदा सेवाग्राहीहरूले भोग्नुपरेको असुविधा र प्रशासनिक झन्झट नयाँ भवन तयार भएपछि हट्ने महानगरको विश्वास छ ।

निर्माण कार्य पूरा भएपछि नयाँ भवन भरतपुर महानगरपालिकाको प्रशासनिक केन्द्र मात्र नभई चितवनकै एक आधुनिक र सुविधासम्पन्न संरचनाको रूपमा स्थापित हुनेछ । बाँकी १२ प्रतिशत काम पनि द्रुत गतिमा अगाडि बढाइएको इन्जिनियर आचार्यले जानकारी दिए ।


Facebook Comments