अबदेखि रत्नपार्कमा निःशुल्क वाईफाई चलाउन पाइने
मेयरसाप डेस्क
|
२०८२ मंसिर १८ गते १७:३०
काठमाडौं । काठमाडौंको शङ्खधर उद्यान (रत्नपार्क) व्यवस्थित बनेसँगै अब जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ ।
काठमाडौं महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले रत्नपार्कमा नेपाल टेलिकमका ६ वटा राउटरमार्फत ५०० एमविपिएस क्षमताको निःशुल्क वाइफाइ जडान कार्य सुरु गरेको छ ।
शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठका अनुसार मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।
करिब ८० लाखको लागत मा पुनःनिर्माण र व्यवस्थापन गरिएपछि रत्नपार्क (हाल शङ्खधर पार्क) मा युवायुवती तस्बिर खिच्न, रमाउन तथा वृद्धवृद्धा घाम ताप्न जानेहरूको सङ्ख्या उल्लेख्य बढेको छ ।
महानगरले रत्नपार्क प्रवेश शुल्कलगायत विभिन्न शुल्कबाट वार्षिक रु ५० लाखदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्र ६१ हजार ५३७ जना प्रवेश गरेका छन् ।
उद्यान प्रमुख उत्तमकुमार घलेले हाल पानीको अभावले गर्दा बोटविरुवा संरक्षणमा समस्या परेको बताए । पार्कमा चाँडै पानीको फोहोरा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
Facebook Comments