टेम्केमैयुङमा १५ शय्याको अस्पताल निर्माण पाँच वर्षदेखि अलपत्र

ठेकेदार सम्पर्कविहीन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १८ गते १७:०१
Image of https://mayorsap.com/storage/photos/shares/kot-hospital-alpatra.jpg

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निर्माण भइरहेको १५ शय्याको अस्पताल भवनको काम ठेकेदारले छाडेर सम्पर्कविहीन भएपछि पाँच वर्षदेखि अलपत्र बनेको छ ।

विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएको भूमि हिमालयण जेभीले सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेको गाउँपालिकाले जनाएको छ ।

रु दश करोड १३ लाख ८३ हजार कूल लागत अनुमान गरिएको यस परियोजनामा निर्माण कम्पनीले हालसम्म रु ९१ लाख भुक्तानी लिइसकेको छ । ठेकेदार विवेश कार्कीले मैदान सम्याएर, कम्पाउन्ड र रिटेनिङ वाल मात्र लगाएर काम रोकेको गाउँपालिकाको भनाइ छ ।

अस्पताल बन्ने आशामा १३.५ रोपनी जग्गा खरिद गरेर दिएका स्थानीयहरूले काम अलपत्र बनेपछि निराश बनेका छन् । स्थानीय भवानी नेपाल र योगेन्द्र कटुवालले काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पटक–पटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको र अब कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जानकारी दिए ।

अस्पताल बनेमा टेम्केमैयुङका वडा नं ५, ६, ७, ८ र ९ का स्थानीय लाभान्वित हुने छन् ।


Facebook Comments