शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा थलारा गाउँपालिकाको छड्के अनुगमन

थलाराका विद्यालयमा सुधारको संकेत

User Image डीबी विष्ट | २०८२ मंसिर १९ गते १२:३८
Image of https://mayorsap.com/storage/photos/shares/edu3.jpg

बझाङ । थलारा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नियमित अनुगमन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विगतका वर्षहरूमा पालिकास्तरीय परीक्षामा धेरै विद्यार्थी असफल देखिएपछि पालिकाले थप सक्रियता बढाएको हो।

थलारा गाउँपालिकासँगकाे सहकार्यमा प्रगतिशील युवा समाजद्वारा सञ्चालित शिक्षा परियोजनामार्फत समेत अभिभावक, विद्यार्थी, शिक्षक र सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन भइरहेको छ। पालिकाले विद्यालयहरुको अनुगमन र निगरानी प्रणाली पनि मजबुत बनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याय नेतृत्वको टोली शिक्षकको नियमितता, पठन–पाठनको अवस्था, विद्यार्थीको सिकाइस्तर तथा विद्यालयको व्यवस्थापन पक्षबारे बुझ्न विद्यालयमै पुगेर छड्के अनुगमन गरिरहेको छ। शिक्षक अनुपस्थित हुने, लामो बिदा र अनियमितता सम्बन्धी गुनासो बढेपछि कुनै पूर्वसूचना बिना टोली विद्यालयमा पुगेको हो।

त्रिभुवन मावि महेन्द्रधाराका प्रधानाध्यापक धनबहादुर विष्टका अनुसार अनुगमन टोलीले विद्यार्थी तथा शिक्षकसँग विद्यालयका कमजोरी र सुधारका उपायबारे छलफल गर्छ र आवश्यक निर्देशन प्रदान गर्छ। उनी भन्छन्, “यसरी पालिकाको निरन्तर अनुगमन भयो भने शैक्षिक गुणस्तर सुधारमा धेरै मद्दत पुग्छ।”

शिक्षा शाखाका प्रमुख तथा शिक्षा संयोजक हर्कबहादुर रोकायाका अनुसार पालिकाले वितरण गरेका शैक्षिक सामग्रीको प्रयोग, विज्ञान प्रयोगशालाको अवस्था, तत्काल समाधान चाहिने समस्याहरू र जनशक्तिको व्यवस्थाबारे अनुगमन टोलीले विस्तृत जानकारी संकलन गर्दै आएको छ। अनुगमनपछि विज्ञान प्रयोगशाला समेत पुनः सञ्चालनमा आएको उनले बताए।

कक्षा १० की विद्यार्थी सुस्मिता बोहरा भन्छिन्, “मोबाइलको दुरुपयोगले पढाइमा असर परेको रहेछ। प्रमुख प्रशासकीय अधिकृतले हामीलाई यसबारे सचेत गराएपछि धेरै कुरा बुझ्यौं।”

प्रमुख प्रशासकीय अधिकृत पाध्यायले सामुदायिक विद्यालयमाथि निगरानी कमजोर हुँदा विद्यार्थीको भविष्य जोखिममा पर्ने उल्लेख गर्दै सबै सरोकारवालाले आफ्नो जिम्मेवारी ईमानदार रूपमा निर्वाह गर्नुपर्ने बताए । अभिभावकको चासोको अभावले पनि समस्या बढ्ने गरेको उनले बताए। पालिकाले धेरै विद्यालयमा ई–हाजिरी प्रणाली जडान गरिसकेको र केही विद्यालयले प्रयोगमा ल्याइसकेको जानकारी समेत उनले दिए।

थलारा गाउँपालिकामा कक्षा ८ सम्मका ७ वटा विद्यालय, कक्षा १० सम्म का ४ वटा विद्यालय, कक्षा १२ सम्मका ४ वटा र २७ आधारभूत विद्यालय तथा २ बालकक्षा गरी कुल ४४ सामुदायिक विद्यालय छन्। अधिकांश विद्यालयको शैक्षिक अवस्था सन्तोषजनक नभएको र निगरानीलाई प्राथमिकता दिइएको थलारा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले बताए।

उनका अनुसार पालिकाले उपलब्ध सीमित बजेटभित्र आवश्यक सामग्री तथा सहयोग प्रदान गर्दै आएको छ। “यदि शिक्षामा परिवर्तन ल्याउन सक्यौं भने त्यही नै ठूलो उपलब्धि हुनेछ,” अध्यक्ष रोकाया भन्छन्।


Facebook Comments