समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते १८:२५
Image of https://mayorsap.com/storage/photos/shares/election-commision_1.jpg

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु गरेको छ ।

आयोगले सूचना प्रकाशित गर्दै उक्त प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म निवेदन पेस गर्न आह्वान गरेको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ र आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

निवेदन स्वीकृत भएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता आगामी माघ ६ गते हुनेछ ।

आयोगले आगामी माघ ११ गते का लागि राष्ट्रियसभाको निर्वाचनको तयारी पनि गरिरहेको छ ।


Facebook Comments