सडक विस्तार पीडितलाई राहत दिने हेटौंडा उपमहानगरकाे निर्णय
ऋण सहुलियतदेखि कर छुटसम्म
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते ०६:१४
काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रभित्र राजमार्ग विस्तारका कारण विस्थापित भएका घरधनी र व्यवसायीहरूलाई सम्बोधन गर्न ९ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । आइतबारको कार्यपालिका बैठकले प्रभावितहरूलाई आर्थिक र कानुनी सहजीकरण गर्ने मुख्य लक्ष्य राखेको छ ।
उपमहानगरले घर भत्किएका घरधनीहरूलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै, व्यवसाय बन्द भएका व्यापारीहरूलाई उनीहरूको व्यवसाय पुनः सुरु नहुँदासम्म व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने भएको छ ।
जग्गाको अंश नभएका र घरबारविहीन बनेका घरधनीहरूलाई आवास व्यवस्थापन गर्न आयोजनामार्फत सहजीकरण गर्ने उपमहानगरको योजना छ । भवन निर्माणलाई सहज बनाउन फास्ट–ट्र्याक नक्सापास सेवा प्रदान गरिनेछ र २०२० वर्गफिटसम्मको नक्सापास दस्तुरमा छुट दिने प्रस्ताव पनि गरिएको छ ।
यसका अतिरिक्त, प्रभावित क्षेत्रमा ’हेटौँडा पहिचान’ झल्किने नमूना घर मोडल कार्यान्वयन गरिने र त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग घोषणा गर्न संघीय सरकारलाई अनुरोध गरिने निष्कर्ष निकालिएको छ । उपमहानगरले सडक विस्तारमा सहयोग पुर्याउने सबै नगरवासीलाई धन्यवाद ज्ञापन गरेको छ ।

Facebook Comments