डिशहोमले ल्यायो नेपाली भाषामा बोल्ने दुईतर्फी एआई ‘खुसी’
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते ०६:१३
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले ग्राहक सेवालाई डिजिटल तथा मानवीय शैलीमा छरितो बनाउने उद्देश्यले नेपाली भाषामा दुईतर्फी संवाद गर्न सक्ने भ्वाइस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ‘खुसी’ सार्वजनिक गरेको छ ।
यो एआईको मुख्य काम सेवा निष्क्रिय भएका ग्राहकलाई मानव–जस्तै आवाजमा सम्पर्क गरी नवीकरणका लागि प्रेरित गर्नुका साथै गुनासो र सुझाव सङ्कलन गर्नु हो । यसले कुराकानीका क्रममा ग्राहकको भावनात्मक विश्लेषण समेत गर्न सक्छ ।
नेटवर्कमा प्राविधिक समस्या आउँदा ‘खुसी’ले केन्द्रीय प्रणालीबाट अवरोधको कारण, अनुमानित समाधान समय र प्रगति विवरण तुरुन्तै ग्राहकलाई उपलब्ध गराउनेछ । यसले ठूलो मात्रामा आउने कलहरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास डिशहोमले लिएको छ ।
डिशहोमले भविष्यमा ‘खुसी’मार्फत जडान तथा मर्मतका लागि समय व्यवस्थापन गर्ने, ग्राहक विवरण अद्यावधिक गर्ने र यसलाई व्हाट्सएप–भाइबर जस्ता प्लेटफर्ममा विस्तार गर्ने योजना बनाएको छ ।
नेपाली भाषाको संवाद क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय एआई अनुसन्धान संस्थाहरूसँग सहकार्यको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
Facebook Comments