पूर्वराजाको भान्जा भन्दै ठगी गर्ने दुई जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते २३:१४
काठमाडौं । बेलायतको म्यान्चेस्टरमा आकर्षक रोजगारी मिलाइदिने भन्दै ४८ जना युवायुवतीबाट ४ करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक मुख्य आरोपीसहित दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाको धुलाबारीबाट काठमाडौँका मनोजकुमार सिंह र दोलखाका लड्डुबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
मुख्य आरोपी सिंहले आफूलाई ’पूर्वराजाको भान्जा’ भन्दै युवायुवतीलाई विश्वासमा पार्ने गरेका थिए ।
आकर्षक तलबको प्रलोभनमा पार्नका लागि उनीहरूले होटल र कम्पनीबीचको नक्कली रोजगार सम्झौता, बेलायती दूतावासको नक्कली पत्र, नक्कली भिसा र हवाई टिकट समेत देखाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका सिंहविरुद्ध यसअघि पनि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको कसुरमा काठमाडौं र ललितपुरमा ६ वटा ठगीसम्बन्धी मुद्दा तथा पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको एक मुद्दा दर्ता रहेको पाइएको छ ।
पैसा बुझाएर पनि विदेश नपठाएपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
Facebook Comments