ठमेलबाट १० लाख नगदसहित फरार कैदी पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते २३:१२
काठमाडौं । प्रहरीले ठमेलबाट चोरीको १० लाख २३ हजार ५०० नगदसहित नुवाकोट स्थायी घर भएका दीपक गजुरेललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गजुरेललाई सिनामङ्गलस्थित राजश्री फाइनान्स र सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको नगद र विभिन्न सामानसहित नियन्त्रणमा लिइएको हो ।
गजुरेलविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहारसम्बन्धी २२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । उनी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका फरार कैदी रहेको खुलेको छ ।
उनको साथबाट चोरीका नगदबाहेक खैरो रङको ब्याग, चोरीमा प्रयोग गरेको हुडी, पञ्जा, क्यानन क्यामेरा, हार्डड्राइभ, लगायतका सामानहरू बरामद गरिएको छ ।
पक्राउ परेका गजुरेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।
Facebook Comments