लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि फाइनलमा निराश
सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा निराश
मेयरसाप डेस्क
|
२०८२ मंसिर २७ गते २२:०९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो ।
सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा आक्रामक ब्याटिङ गर्दै आउट भए । डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए । निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे ।
लुम्बिनीलाई उपाधि जिताउन बलिङतर्फ कप्तान रोहित पौडेल, शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३÷३ विकेट लिए । प्रतियोगितामा पहिलो खेल जितेपछि लुम्बिनी लगातार तीन खेल हारेको थियो । तर त्यसपछिका हरेक खेल आफ्नो पक्षमा पार्दै लुम्बिनीले एनपीएलको पहिलो उपाधि उचालेको हो ।
आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।
यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०÷ १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहितकुमार पौडेलले समान तीन÷तीन विकेट हात पारे । यस्तै, तिलक भन्डारीले एक विकेट लिए ।
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक पनि उस्तै नियति दोहोरियो । लुम्बिनीले भने प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै अन्ततः उपाधि जितेको छ ।
Facebook Comments