भरतपुर महानगरको प्रथम चौमासिक खर्च १७ प्रतिशत

राजस्व सङ्कलन उत्साहजनक

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २८ गते १९:५९
Image of https://mayorsap.com/storage/photos/shares/fb-img-1765625954444-1068x801.jpg

भरतपुर । भरतपुर महानगरपालिकामा चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो चार महिनामा २५ प्रतिशत खर्च भएको छ । महानगरको चालू वर्षमा भएको अनुमानित व्यय ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारमध्ये जम्मा ८९ करोड ६४ हजार ७ सय खर्च भएको छ, जुन समग्र बजेटको १७.१२ प्रतिशत हो ।

भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार, चालू बजेटतर्फ २ अर्ब ६१ करोड ७८ लाख १८ हजार विनियोजित भएकोमा पहिलो चौमासिकको अवधिसम्ममा ६५ करोड ४४ लाख २९ हजार खर्च भएको छ । जुन चालूतर्फको समग्र बजेटको २५ प्रतिशत प्रगति हो ।

पुँजीगत खर्चतर्फ २ अर्ब ५७ करोड ८८ लाख ९७ हजार विनियोजन भएकोमा पहिलो चौमासिक अवधिसम्ममा २३ करोड ५६ लाख ३५ हजार ७ सय खर्च भएको छ, जुन समग्र पुँजीगत बजेटको ९.१४ प्रतिशत प्रगति हो ।

यसैगरी, राजस्वतर्फ आर्थिक वर्ष २०८२÷०८३ का लागि आन्तरिकतर्फ १ अर्ब ६५ करोड १५ लाख रूपैयाँ प्रक्षेपण गरिएकोमा हालसम्म ५४ करोड ७९ लाख ८७ हजार राजस्व सङ्कलन भएको र यो कुल अनुमानको करिब ३३.१८ प्रतिशत हो ।

राजस्व बाँडफाँट रकममध्ये १ अरब ३३ करोड ८० लाख ४१ हजार प्रक्षेपण गरिएकोमा हालसम्म २३ करोड ७६ लाख ४९ हजार ९ सय प्राप्त भएको छ, जुन कुल प्रक्षेपणको १७.७६ प्रतिशत रहेको उनले बताए ।

आर्थिक वर्ष २०८२–०८३ मा अनुमानित आय ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारमध्ये संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ३६ लाख रूपैयाँ प्रस्ताव गरिएकोमा हाल ९४ करोड ८९ लाख वास्तविक आय भएको र यो लक्ष्यको तुलनामा ४७.३६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२–०८३ मा प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट १५ करोड ४० लाख २५ हजार रूपैयाँ प्रस्ताव गरिएकोमा हाल ३ करोड १३ लाख ८१ हजार वास्तविक आय रहेको र लक्ष्यको तुलनामा २०.३७ प्रतिशत रहेको छ ।

प्रशासकीय अधिकृत पौडेलले प्रथम चौमासिकमा गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यले महानगर, बागमती प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा हालसम्म ४२ प्रतिशत भौतिक प्रगति र ३४ करोड ८० लाख खर्च भएको बताए ।

महानगर प्रशासकीय भवन ५३ करोड ३२ लाखमा सम्झौता भएकोमा हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको, पुंगी खोला सौन्दर्यीकरणमा हालसम्म १७ करोड ४० लाख खर्च भएको, फाउन्डेसनसहित मेसजाली, ६ लेन सडक सौन्दर्यीकरण, देवघाटमा शवदाह गृह, महानगरीय चक्रपथ, नारायणी नदीमा आकर्षक सिग्नेचर ब्रिजको काम पनि प्रारम्भ भएको जनाइएको छ ।

सहरका ४१८ स्थानमा सिसिटिभी जडान, उज्यालो भरतपुर कार्यक्रमअन्तर्गत हालसम्म २०६ किमी सडक बत्ती, महानगरका विभिन्न चोकहरुमा ९१ वटा हाइ मास्ट तथा मिनी मास्ट वत्ती जडान भएको, मेयर विपन्न आवास कार्यक्रम, डिजिटल घर नम्बर तथा सडक ठेगाना प्रणाली लागू भएको, चालू आर्थिक वर्षमा भुक्तानी बाँकी रहेका विभिन्न आयोजनाहरुअन्तर्गत सडक योजनाहरु १५.०३ किमी सडक सम्पन्न भएका छन् । महानगर स्थापनापश्चात् ८ वर्षमा कुल १०७२ किमी सडक कालोपत्रे भएका छन् ।

वडा नं–१६, २६, २७ र २८ मा १२९५ मिटर मेसजाली लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन् । जेन–जी आन्दोलनका क्रममा भरतपुर महानगरका १९ वटा वडामा आगजनी र तोडफोडले क्षति पुगेको साथै महत्वपूर्ण दस्तावेजहरु, कागजात, मसलन्द सामग्री, ४१ वटा अत्यावश्यक सवारीसाधनसहित कुल ४८ करोड ९० लाख ३७ हजारबराबार क्षति पुगेको उनले जानकारी दिइन् ।

महानगरले विभिन्न वडामा ३४९ वटा कम्पोष्ट रिड च्याम्बर वितरण गरिएको भन्दै रैथाने बाली कोदो, फापरखेती गर्ने कृषकलाई प्रतिकठ्ठा १ हजार अनुदान दिन लागेको उनले जानकारी दिइन् । छोरी उमङ्ग जीवन बिमाअन्तर्गत ९१ जना छोरीहरु तथा मध्यम अपाङ्गता भएका २२ घरपरिवारका ११० जनाको बिमा भुक्तान गरिएको उनले बताइन् ।


Facebook Comments