म्याग्देको थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

हट्यो पोखरा र दमौली धाउनुपर्ने समस्या

User Image मेयरसाप डेस्क | २०८२ पुष ३ गते १८:२६
Image of https://mayorsap.com/storage/photos/shares/eye-checkup-photo.jpg

दमौली । जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताए ।

योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली वा पोखरा जानुपर्ने बाध्यता अन्त्यका लागि हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरी केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनले भने, “अब यहाँका स्थानीयवासीले आँखा उपचारका लागि अन्यत्र जानुपर्दैन । यहाँबाटै नियमित रूपमा उपचारको व्यवस्थाले सर्वसाधारणलाई सहज हुनुका साथै समय र खर्च बचत हुनेछ ।”

उपचार केन्द्र शुभारम्भको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरमा विभिन्न वडाका सर्वसाधारण उपचारका लागि आएका अस्पतालले जनाएको छ । केन्द्र सञ्चालनका लागि प्राविधिकसहित उपकरण हिमालय आँखा अस्पतालले उपलब्ध गराएको छ ।

सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक रु ६ लाख उपलब्ध गराउनेछ भने बिरामीबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानीका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रूपमा सञ्चालन गर्न आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त समितिको संयोजकमा थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सहसंयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् ।

त्यस्तै सदस्यहरूमा म्याग्दे–४ का वडाध्यक्ष, वडा नं ७ का वडाध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् ।


Facebook Comments