बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १७:१८
Image of https://mayorsap.com/storage/photos/shares/besar.jpg

बैतडी । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् । 

खाद्यबाली जङ्गली जनावरले क्षति पुर्याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताइन् । “बाँदरले अन्य बालीमा क्षति पुर्याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसाहिक रूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ”, उनले भनिन् ।

जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन् । घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका  सुर्नया गाउँपालिका–६ की पवित्रा शाह बताउँछिन् ।

‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेती समेत गरिरहेको उनले जानकारी दिइन् । 

सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्र्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताए ।

बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताए । 

“महिलाले राम्रै मेहनत गरिरहनुभएको छ । साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छाैं”, उनले भने, “बेलाबेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छाैं र समाधान पनि खोज्छौँ ।”


Facebook Comments