काठमाडौं महानगरमा नगर प्रहरी पदपूर्ति गर्न कानुनी अन्योल

उपप्रमुख डङ्गोलद्वारा थप छलफलको प्रस्ताव

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १८:०६
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-3ece35e1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४४औँ नगर कार्यपालिका बैठकमा नगर प्रहरीको रिक्त दरबन्दी पदपूर्ति र कर्मचारीको तहवृद्धिको विषयमा कानुनी जटिलता देखिएको छ ।

वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले राखेको प्रस्तावमाथि उपप्रमुख सुनिता डङ्गोलले थप स्पष्टता आवश्यक रहेको बताएकी छिन् ।

नगर प्रहरीमा रिक्त रहेका २७ जना प्रहरी सहायक निरीक्षक (असही) पदमा खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने प्रस्ताव नगर प्रहरी बलले पेस गरेको छ ।

२०७४ सालमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हवलदारहरूको स्तरवृद्धि र प्रहरी मापदण्डका विषयमा कानुनी स्पष्टता नभएको पाइएको छ । प्रहरी मापदण्ड अनुसार दोस्रो तहका कर्मचारी स्वतः तेस्रो तहमा जाने प्रावधान नभएको पाण्डेले जानकारी दिए ।

प्रहरी विनियमावली २०७२ अनुसार नियुक्ति भएका कर्मचारीको २०८० पछि सोही नियमावली अनुसार स्तरवृद्धि भएको नदेखिएको र यसबारे प्रहरी बललाई समेत आधिकारिक जानकारी नरहेको बताइएको छ ।

नगर उपप्रमुख सुनिता डङ्गोलले पेस गरिएको एजेन्डा र ’फुली’ (दर्जानी चिह्न) लगाउने विषयमा अझै स्पष्ट हुन नसकेको भन्दै थप छलफल गरेर मात्र निर्णयमा पुग्ने अडान लिएकी छिन् ।


Facebook Comments