बेकरी व्यवसायमा जम्दै बाजुराका जैशी, भन्छन्- ‘स्वदेशमै कर्म गरे विदेश जानु पर्दैन’

बिहानदेखि बेलुकीसम्म बेकरीकै काम

User Image गोविन्द तिमिल्सेना | २०८२ पुष ९ गते १०:३९
Image of https://mayorsap.com/storage/photos/shares/bakery7.jpg

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका– ७ सेरकाटीया घर भएका गंगराज जैशी आज भोली बेकरी व्यवसायमा निकै व्यस्त छन् । उनको दैनिकी बिहानदेखि बेलुकीसम्म बेकरीकै काममा बित्छ। उनले बाजुराको बडीमालिका नगरपालिका ८ त्रिवेणी चोकमा  बुढीनन्दा बेकरी सञ्चालन गरेका छन् ।

उमेरले ३६ बर्ष नकटेका जैशी बिहान उठेदेखि बेलुकासम्म पाउरोटी, दुनोट, पिजा, बर्गर, विभिन्न आकर्षक डिजाइनका केक बनाउनमै व्यस्त हुन्छन् । वि.सं २०७८ सालबाट पेशा व्यवसाय थालनी गरेका उनको बेकरी व्यवसायी अहिले करिब ५ वर्ष पूरा भएको छ। पाँच वर्षको दौरानमा उनले सबैको सामू असल कर्म र प्रेरणादायी काम गरेका छन् । सुरुमा उनले बडीमालिका ८ विद्युत कार्यालय नजिकबाट व्यवसाय सञ्चालन गरेका थिए ।

त्यसपछि थप व्यवसाय प्रबर्द्धनको लागी उनले खेलकुद नजिकैबाट व्यवसाय सुरु गरे । त्यहाँबाट पनि राम्रो व्यवसाय भयो। अनेकौं बाधा,अड्चनका साथ व्यवसायलाई निरन्तरता दिइरहे । जैशीले अहिले हिलटप होटल नजिकैबाट पेशा, व्यवसाय सञ्चालन गरिरहेका छन्।

काठमाडौंमा बेकरी उद्योग सम्बन्धी सीप सिकेपछि उनले अहिले आफ्नै जिल्लामा केही गर्नुपर्छ भन्ने उद्देश्यले सानै भए पनि बेकरी उद्योग सञ्चालनमा ल्याएका छन्। जैशीले बेकरी सम्बन्धी तालिम मात्रै नभई भारतमा करिब ४ वर्षजति बेकरी सम्बन्धी काम समेत गरेका हुन्।

जसबाट उनले धेरै ज्ञान, सीप बटुल्न सके। जुन ज्ञान,सीप अहिले प्रयोग गरिरहेका छन्। स्वदेशमै केही गरेर बस्नुपर्छ भन्ने हुटहुटी भएका जैशी कर्मशील व्यक्तिहरुको लागी स्वदेश नै विदेश सरह हुने गरेको बताउँछन्। आफ्नै ठाउँमा कर्म गर्न आवश्यक रहेको कुरामा जैशी जोड दिन्छन्।

कर्म नै सफलताको प्रमुख माध्यम भएकोले कर्म विना कुनै पनि सफलता प्राप्त गर्न नसकिने जैशीको भनाई छ। जैशी भन्छन्, ‘हामी स्वदेशमा रोजगारीका अवसर छैन भन्छौँ तर कर्मशील व्यक्तिको लागि रोजगारीका अवसर फालाफाल छ। पेशा, व्यवसाय सानो ठुलो भए पनि व्यक्ति कर्मशील भएको खण्डमा आफ्नै गाउँ ठाउँमा राम्रो गर्न सकिने रहेछ ।’  

जैशीको घरपरिवार बेकरी व्यवसायबाट चलिरहेको छ। छोराछोरीको पढाइदेखि दैनिक खान, बस्न, कोठाभाडा लगायत अन्य खर्च पेशा व्यवसायले धानिरहेको छ। स्वदेशमा जागिर पाइँदैन, केही व्यवसाय गरेपनि पैसा कमाउन सकिँदैन भन्ने सोचलाई चिर्दै जैशीले बेकरी उद्योग व्यवसाबाट जिविकोपार्जन सँगै सबैको माझ प्रेरणाका पात्र बनेका छन्।

उनको व्यवसायमा उनकी श्रीमती पद्मा तिमल्सेना जैशीले पनि साथ दिएकी छन्। दुई जनाले मेलेर व्यवसायलाई अघि बढाएका छन् । बेकरीबाट उत्पादन हुने पाउरोटी, दुनोट, पास्ता, ब्रेड, आकर्षक डिजाइनका केक लगायत विभिन्न परिकार सदरमुकाम मार्तडी लगायत विभिन्न स्थानीय तहमा समेत पठाउने गरिएको छ । 

विभिन्न कार्यालय, संघ संस्था, जन्मदिन, एनिवर्सरीमा चाहिने आकर्षक डिजाइनका केक समेत जैशीले बनाउने गरेका छन्।‘ आकर्षक डिजाईनका केकमा मान्छेहरू आकर्षित हुने हुँदा बेच्नलाई कुनै समस्या नहुने गरेको जैशी सुनाउँछन्,’ उनी भन्छन्, ‘दिनहुँ केकको लागि अर्डर नआएको कुनै दिन हुँदैन। कहिले कार्यालय, कहिले संघसंस्था र कहिले जन्मदिनको लागि केक अर्डर आउने गर्छन्।’

बेकरीको लागि आवश्यक सामान उनले राखेका छन्। विस्तारै व्यवसायलाई थप विस्तार गर्दै जाने उनको भनाइ छ। सबैभन्दा धेरै बिक्री हुने इस्ट, बेकिङ पाउडर र सेन्ट हो । बेकिङ पाउडर र इस्टले केक, पाउरोटी, रोटी, पिज्जा र बर्गर फुलाउने काम गर्छ अनि सेन्टले केकलाई बासनादार बनाउने काम गर्छ।

जैशीले बेकरी उद्योगबाट आफू सन्तुष्ट रहेको बताएका छन्। आफ्नै गाउँ ठाउँमा कर्म गरेर खानुपर्छ भन्ने सोचले आफ्नो दिमागमा कहिल्यै विदेशीने सोच नआएको जैशी सुनाउँछन् । विदेशमा अरुको जालझेल, दवाव सहेर काम गर्नु भन्दा दुई चार पैसा भएपनि स्वदेशमै काम गर्नु गौरवको कुरा रहेको उनको भनाइ छ।

साथै उनले पछिल्लो समय युवाहरु धमाधम विदेशीने क्रम बढ्नुमा चिन्ता व्यक्त गर्दै सम्पूर्ण युवाहरुलाई सानै भएपनि स्वदेशमै बसेर रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको बताए ।  ।


Facebook Comments