विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ : प्रधानमन्त्री कार्की
कुलपति व्यवस्था परिमार्जन हुँदै
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १५:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको उच्च शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएकी छिन् ।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक प्रशासनमा हुने राजनीतिक प्रभावले शिक्षाको गुणस्तरमा निरन्तर असर पारिरहेको बताइन् ।
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने वर्तमान व्यवस्थालाई परिमार्जन गर्न सरकारले गम्भीर परामर्श र गृहकार्य गरिरहेको उनले जानकारी दिइन् ।
दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षान्त आफैँमा अन्तिम गन्तव्य नभई प्राप्त ज्ञानलाई मानव विकासका लागि उपयोग गर्ने नयाँ यात्राको आरम्भ भएको उल्लेख गरिन् ।
प्रविधिको परिवर्तन, रोजगारीको प्रतिस्पर्धा र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न दीक्षित जनशक्ति सक्षम हुनेमा उनले विश्वास व्यक्त गरिन् ।
विश्वविद्यालयको ठूलो आकारले मात्र गुणस्तर सुनिश्चित नगर्ने बताउँदै उनले प्राध्यापक–विद्यार्थीको सही अनुपात मिलाउन र अनुसन्धानमा जोड दिन आग्रह गरिन् ।
नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कार्कीले स्वदेशमै व्यावहारिक र समयानुकूल शैक्षिक कार्यक्रमहरू थप गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराइन् ।
Facebook Comments