पशुपति क्षेत्रको ऐतिहासिक सुन्धाराको निकास २५ वर्षपछि खुल्यो
फर्कियो लिच्छवीकालीन गौरव
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १२:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्रमा रहेको ऐतिहासिक एवं धार्मिक महत्त्वको जयवागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको निकास २५ वर्षपछि खुला गरेको छ ।
सहरीकरण र खानेपानीका पाइप बिछ्याउने क्रममा परम्परागत ढल संरचना क्षतिग्रस्त हुँदा विगत साढे दुई दशकदेखि यो ढुङ्गेधाराको निकास बन्द भएको थियो ।
महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतका अनुसार पुस ६ र ९ गते रातभर गरिएको निरन्तर प्रयासपछि ६० मिटर लम्बाइ र करिब १२ फिट गहिराइमा पाइप राखेर पानीको निकास खोलिएको हो ।
जयवागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्यका अनुसार यो धारा माता जयवागेश्वरीको स्नानस्थलका रूपमा पुजिन्छ । अहिले पनि धार्मिक अनुष्ठान र माताको चरण पखाल्न यहीँको शुद्ध जल प्रयोग गर्ने परम्परा छ ।
स्थानीय मुकुन्दराज वैद्यका अनुसार, लिच्छवीकालीन राजा नरेन्द्र देवले मानसरोवरबाट जयवागेश्वरी मातालाई आह्वान गरी ल्याउँदा माताको स्नानका लागि यो जल प्रणालीको व्यवस्था गरिएको थियो ।
विगतका गलत पुनर्निर्माणका कारण धाराको स्वरूप बिग्रिएकाले अब यसलाई प्राचीन वास्तुकला र नेवार सभ्यताको पहिचान झल्किने गरी पुरानै अवस्थामा फर्काइने वडाध्यक्ष संगतले बताए ।
१० वर्षअघि पनि यसलाई खोल्ने प्रयास गरिए पनि सफल हुन सकेको थिएन । ढुङ्गामा कुँदिएका कलात्मक बुट्टा र देवीदेवताका मूर्तिहरूले सजिएको यो सुन्धारा प्राचीन जल व्यवस्थापन प्रणालीको एक जीवित उदाहरण हो ।
Facebook Comments