मार्क्सवाद-लेनिनवादको समृद्धिकरणमा माओको योगदान

User Image देव गुरूङ | २०८२ पुष ११ गते १६:५६
Image of https://mayorsap.com/storage/photos/shares/mao-zedong-leftreviewonline.jpg

२६ डिसेम्बर अर्थात् पुस ११ गते माओ दिवस ! यस सन्दर्भमा विश्व सर्वहारा वर्गका महान् गुरु, चिनियाँ क्रान्तिका नायक तथा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष क.माओ प्रति हार्दिक श्रद्धाञ्जली ! 

क.माओ आज भन्दा १३२ वर्ष अगाडी चीनको हुनान प्रान्तको शाङशाओ गांउमा सन् १८९३ डिसेम्बर २६ मा जन्म भएको थियो र सन् १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षको उमेरमा बेइजिङमा वहाँको निधन भएको थियो ।

क.माओले आफ्नो जीवन कालमा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा श्रमजीवी वर्गले कसरी क्रान्ति सम्पन्न गर्न सकिन्छ, भन्ने कुरा वैचारिक रूपले मार्क्सवाद–लेनिनवादमा थप समृद्विकरण गर्नुभयो र उक्त विचारलाई चिनियाँ क्रान्तिबाट व्यवहारिक प्रयोगमा पनि पुष्टि गर्नुभयो । त्यसका साथै विश्व परिवेशको सन्दर्भमा लेनिनले भन्नुभएको विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विश्लेषणमाथि माओले थप व्याख्या गर्दै विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रहरू बिचको प्रमुख अन्तर्विरोध भन्दै विश्वको वर्ग विश्लेषण गर्नुभयो । उक्त वर्ग विश्लेषण २१औँ शताब्दीमा पनि बस्तुसम्मत देखिन्छ । त्यसैले माओका विचारहरू विश्व क्रान्तिको सन्दर्भमा पनि सार्वभौम रहेको देखिन्छ ।

यद्यपि नेपाली कम्युनिस्ट आन्दोलनमा २०७५ मा नेकपा एकता गर्दादेखि माओवादलाई अन्तर पार्टी छलफलको विषय बनाएता पनि विश्व कम्युनिस्ट आन्दोलनमा माओका विचारहरू मार्ग निर्देशक बनेको देखिन्छ । माओवादको पदावलीको प्रयोग गरे पनि वा नगरे पनि माओवादको मूल आधार मार्क्सवाद–लेनिनवाद हो ।

मार्क्सवाद–लेनिनवादलाई आजको २१औँ शताब्दीको युगको विश्व साम्राज्यवादको वर्ग विशेषताको ठोस विश्लेषण र त्यसको आधारमा विश्व साम्राज्यवाद विरुद्धको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सही ढङ्गले सुसङ्गठित गर्न सकेमा त्यो नै २१औँ शताब्दीको मालेमावादको सही प्रयोग हुने देखिन्छ । त्यस दिशामा माओका विचारहरूले कुनै न कुनै रूपमा मार्गनिर्देसन गरिरहेको देखिन्छ ।

अतः विश्व साम्राज्यवादका विरुद्ध उत्पीडित राष्ट्रहरूले स्वाधीनताको आन्दोलनलाई तीव्रता दिनै पर्छ । त्यसबाट मात्र उत्पीडित राष्ट्रहरूले राष्ट्रिय पुँजी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सक्नेछ । त्यही राष्ट्रिय स्वाधीन अर्थतन्त्रको जगमा समाजवादी क्रान्ति सम्भव हुनेछ । यही मार्ग चित्र नै क.माओका विचारहरूसँग अन्तर सम्बन्धित रहेको देखिन्छ । क.माओका योगदानहरूलाई यसै सन्दर्भमा मार्ग निर्देशकको रूपमा स्मरणीय रहेको छ ।–देव गुरुङ


Facebook Comments