वडा कार्यालयकाे भवन बनाउन स्थानीयले गरे जग्गा दान
४ रोपनी जग्गा निःशुल्क
मेयरसाप डेस्क
|
२०८२ पुष १३ गते १३:४१
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा वडा कार्यालयको आफ्नै भवन बनाउन स्थानीय १० जना दाताहरूले करिब एक करोड रुपैयाँ मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकसँगै जोडिएको पर्यटकीय क्षेत्र महभिर झरना नजिकैको चार रोपनी जग्गा वडा कार्यालयको नाममा पास गरिएको हो ।
वडाध्यक्ष मइलन गर्बुजा पुनका अनुसार, भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा र गौरी गर्बुजाले संयुक्त रूपमा ११ कित्ता जग्गा दान गरेका हुन् ।
साविक हिस्तान गाविसका पाँचवटै टोलको भेलाले तीन वर्षअघि गरेको सहमतिअनुसार अहिले जग्गा प्राप्तिको कानुनी प्रक्रिया पूरा भएको वडाध्यक्ष पुनले जानकारी दिए ।
जग्गा प्राप्त भएसँगै गाउँपालिकाले १ करोड ३९ लाख रुपैयाँको लागत अनुमानमा हिस्तान वडा कार्यालय भवन निर्माणका लागि आइतबार ठेक्का आह्वान समेत गरिसकेको छ । स्थानीयको यो दानले सार्वजनिक सेवा प्रवाहका लागि स्थायी पूर्वाधार बनाउने बाटो खुलेको छ ।
Facebook Comments