ट्रम्प र जेलेन्स्कीबीच भेट हुनुअघि युक्रेनमा रुसको आक्रमण
मेयरसाप डेस्क
|
२०८२ पुष १३ गते १३:५९
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने निर्णायक शान्ति वार्ताको पूर्वसन्ध्यामा रुसले युक्रेनमाथि हालसम्मकै भीषण हवाई आक्रमण गरेको छ । रुसले शनिबार रातभर युक्रेनका विभिन्न सहरहरूमा ५ सय वटा ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले पुष्टि गरे ।
रुसी हमलाका कारण राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा दुई जनाको मृत्यु भएको छ, भने दुई बालबालिकासहित ४६ जना घाइते भएका छन् । ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरिएको यो आक्रमणका कारण किभका १० लाखभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति ठप्प भएको छ । माइनस डिग्रीको कठ्याङ्ग्रिँदो चिसोमा बिजुली र ताप सेवा अवरुद्ध हुँदा जनजीवन निकै कष्टकर बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।
यसैबीच, युक्रेनले पनि मस्कोको परमाणु ऊर्जा भण्डारलाई लक्षित गरी ड्रोन प्रहार गरेको छ । मस्कोका मेयरका अनुसार रुसी प्रतिरक्षा प्रणालीले युक्रेनका ८ वटा ड्रोन खसालेको छ ।
रुसी आक्रमणका बीच राष्ट्रपति जेलेन्स्की ट्रम्पको ’२० बुँदे शान्ति योजना’ माथि छलफल गर्न आइतबार वाशिङ्टन डिसी पुग्दै छन् । ट्रम्पका विशेष दूत र सल्लाहकारहरूले तयार पारेको उक्त प्रस्तावमा युक्रेन करिब ९० प्रतिशत सहमत भइसकेको बुझिएको छ । यद्यपि, सुरक्षा ग्यारेन्टी र भू–भागको नियन्त्रण जस्ता जटिल विषयमा ट्रम्पसँग प्रत्यक्ष संवाद गरेर मात्र अन्तिम निर्णय लिने जेलेन्स्कीको तयारी छ ।
वाशिङ्टन जाने क्रममा जेलेन्स्कीले क्यानडा पुगेर प्रधानमन्त्री मार्क कार्नीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा क्यानडाले युक्रेनका लागि थप २.५ अर्ब क्यानेडियन डलर सहायताको घोषणा गरेको छ । यस्तै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लायनले पनि युक्रेनको सार्वभौमिकता जोगिने गरी हुने दिगो शान्तिका प्रयासहरूलाई स्वागत गर्ने बताए ।
Facebook Comments