दलित छात्रालाई शैक्षिक सामग्री प्रदान गर्दै धनगढी उपमहानगर

‘जुठे दमाई छात्रवृत्ति’

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १५:०१
Image of https://mayorsap.com/storage/photos/shares/bitaran.jpg

धनगढी । धनगढी उपमहानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२–०८३ को ‘जुठे दमाई छात्रवृत्ति’ वितरण सुरु गरेको छ ।

आइतबार धनगढी–१६ स्थित शिव माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गोपाल हमालले छात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै अभियानको सुरुवात गरेका हुन् ।

यस छात्रवृत्ति अन्तर्गत धनगढीका विभिन्न सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्राहरू लाभान्वित हुने उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

कार्यक्रमअनुसार प्रत्येक छात्रालाई विद्यालय झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने उपमहानगरले जानकारी दिएकाे छ ।

शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकका अनुसार दलित समुदायका छात्राहरूलाई विद्यालयमा टिकाइराख्न र उनीहरूको शैक्षिक यात्रामा टेवा पुर्याउन उपमहानगरपालिकाले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।


Facebook Comments