सुन्तलाबाट वार्षिक ५ लाखसम्म कमाउँछन् उमाकुण्डका किसान

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १५:१७
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-0fba7e77.jpeg

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ र ५ प्रीतिका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । 

अन्य बालीको तुलनामा कम मेहनत र दीर्घकालीन फाइदा हुने भएपछि यहाँका कृषकहरू सुन्तला बँगैचा विस्तारमा जुटेका हुन् ।

किसानलाई प्रोत्साहन गर्न उमाकुण्ड गाउँपालिका र वाग्मती प्रदेश सरकारले यी वडालाई ’सुन्तला पकेट क्षेत्र’ घोषणा गरी कार्यक्रम सञ्चालन गरेका छन् । 

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार, पकेट कार्यक्रमअन्तर्गत किसानलाई उन्नत बिरुवा, विषादी र प्राविधिक परामर्श निःशुल्क उपलब्ध गराइएको छ ।

अहिले यहाँका किसानले एकै सिजनमा सुन्तला बिक्री गरेर २ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । स्थानीय किसान नेत्रमाया सुनुवारले आफ्नो चार रोपनी बगैँचाबाट वार्षिक दुई लाख रुपैयाँ कमाउने गरेको बताइन् । 

उत्पादित सुन्तला खरिद गर्न व्यापारीहरू किसानकै बँगैचासम्म पुग्ने गरेका छन् भने बाँकी उत्पादन स्थानीय हाटबजारमा खपत हुने गरेको छ ।

एक पटक रोपेको बिरुवाले ५० वर्षसम्म फल दिने हुनाले वैदेशिक रोजगारी र बसाइँसराइका कारण बाँझिँदै गएको जग्गा सदुपयोग गर्न सुन्तला खेती प्रभावकारी विकल्प बनेको छ ।


Facebook Comments