कुमाखमा निःशुल्क स्वास्थ्य शिविरबाट ५५२ जना लाभान्वित
पाठेघर र दाँतका बिरामी धेरै
मेयरसाप डेस्क
|
२०८२ पुष १३ गते १५:३०
सल्यान । सल्यानको कुमाख गाउँपालिका–५ मा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५२ जना स्थानीयले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् ।
नेपाली सेनाको सिद्धीबक्स गण सिमखर्क र कुमाख गाउँपालिकाको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । कुमाख–५ स्थित नेता आधारभूत विद्यालयमा सञ्चालित शिविरमा विशेषगरी महिला र विपन्न नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर वलीका अनुसार शिविरमा ९२ जना गर्भवतीको भिडियो एक्सरे, १३४ जनाको पाठेघर परीक्षण र १४६ जनाले दाँतसम्बन्धी सेवा लिएका छन् । यस्तै, १२ जनाको ईसिजी र २५ जनाको प्रयोगशाला परीक्षण गरिएको छ भने बाँकीले अन्य सामान्य स्वास्थ्य सेवा लिएका छन् ।
आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकेर घरमै रोग पालेर बसेका नागरिकहरूले गाउँमै विशेषज्ञ सेवा पाउँदा ठूलो राहत महसुस गरेका छन् ।
नागरिक र सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै विकट क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो ।
Facebook Comments