स्रोत र साधन सदूपयोग गर्ने सवालमा राज्यको नीति प्रभावकारी छैन्ः पूर्वगभर्नर क्षेत्री

User Image मेयरसाप डेस्क | २०८२ पुष १४ गते १७:५४
Image of https://mayorsap.com/storage/photos/shares/dipendra-bahadur-kshetry-7f621861.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले देशको स्रोत र साधनको विषयमा राज्यको नीति प्रभावकारी नभएको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित ‘नेपाल विश्वव्यापी आर्थिक व्यवस्थामा परिवर्तनः नेपालका लागि अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यार्सागुम्बा संसारले माग गरिरहेको अवस्थामा त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म राज्यले नगरेको बताए ।

उनले भने, ‘नेपाल सम्भावना भएको देश हो त भनिराखेका छौं । तर हाम्रो देशलाई स्रोत र साधनबारे खबर नभएको जस्तोलाग्छ । राज्यको त्यसमा ध्यान गएको छैन् । राज्यको नीति पनि देखिएन । यार्सागुम्बा संसारले मागिरहेको छ । चीनले म्यानुफ्याक्चरिङ गरेर यहींबाट लगेर के के प्रगति गरिरहेको छ । तर त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म नेपालले गरिरहेका छैन् ।’

त्यस्तै उनले अहिलेको अवस्थामा देशले कृषिलाई बिर्सन नहुने धारणा राखे । फुड पोलिसी र सेक्युरिटीको कुरा गर्ने तर अहिले पनि चामल भारतबाट ल्याउनुपर्ने अवस्था दुखद् रहेको उनको भनाइ छ ।

‘अहिले पनि हामी कृषिलाई बिर्सनु हुँदैन् । फुड पोलिसी र सेक्युरिटीको कुरा त गरिरहेको छौं तर चामल भारतबाट नल्याएसम्म खान पाउँदैनौं भन्ने यथार्थ छ । दाल पनि नेपालमा पुग्नेगरी उत्पादन हुँदैन् ।’

सोही कार्यक्रममा बोल्दै अर्थविद् डा।विश्वम्भर प्याकुरेलले नेपालले अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनसक्नुपर्ने बताए ।
‘नेपालले अब अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।


Facebook Comments