रञ्जिताकाे नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिष्ट पार्टीमा भयाे विलय
मेयरसाप डेस्क
|
२०८२ पुष १४ गते २०:३६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आज भएको सहमतिअनुसार दुवै पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टीको नाम र चुनाव चिह्न तारा कायम रहनेछ ।
सहमतिपत्रमा नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतालाई ध्यानमा राख्दै सामाजिक न्याय, समावेशिता, सुशासन र समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । दुवै पार्टीले सर्वोच्च राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता, महिला, दलित, थारु, मधेसी, आदिवासी, मुस्लिमलगायतका सीमान्तीकृत वर्ग र समुदायको समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । टीकापुर घटनासँग सम्बन्धित मुद्दाहरूको निष्पक्ष अनुसन्धान र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ ।
Facebook Comments