हेटौँडामा रातो नम्बर प्लेटको अटोको मनपरी, प्रशासन मौन

User Image दिक्षान्स खड्का | २०८२ पुष १४ गते २०:४२
Image of https://mayorsap.com/storage/photos/shares/auto-vehicle.jpeg

हेटौँडा । सवारी तथा यातायात व्यवस्था ऐनअनुसार निजी प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने रातो नम्बर प्लेटका अटो रिक्सा हेटौँडामा खुलेआम यात्रु बोक्दै सञ्चालन भइरहेका छन्। तर उक्त अवैध गतिविधिप्रति स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ध्यान पुगेको देखिँदैन।

कानुनअनुसार यात्रु बोक्ने अनुमति कालो नम्बर प्लेटका सवारी साधनलाई मात्र दिइन्छ। व्यावसायिक प्रयोजनका लागि दर्ता भएका कालो नम्बर प्लेटका अटो चालकहरूले संघ, नगरपालिका र सम्बन्धित निकायलाई कर तिरेर सेवा दिँदै आएका छन्। तर पछिल्लो समय हेटौँडा बजार, मुख्य राजमार्ग र व्यस्त क्षेत्रमा रातो नम्बर प्लेटका अटोले यात्रु बोक्दा वैध अटो चालकहरू रोजीरोटीबाट वञ्चित हुन थालेका छन्।

विशेषगरी गाउँपालिकाका नाममा दर्ता गरिएका अटोहरू हेटौँडाको मुख्य सडकमा नै यात्रु बोकेर हिँड्दा पनि सम्बन्धित निकायले कारबाही नगरेको गुनासो बढ्दै गएको छ। यसले सवारी ऐनको ठाडो उल्लङ्घन भइरहेको चालकहरूको भनाइ छ।

यस विषयमा मेयर साहब डट कमका संवाददाता दिक्षान्स खड्कासँग कुरा गर्दै कालो नम्बर प्लेटको अटो चालक सुरेन्द्र माझीले आफूहरू नियमअनुसार सञ्चालन गर्दै आएको भए पनि बदनाम हुनुपरेको बताए।

“हामी संघलाई कर तिर्छौँ, नगरपालिकाको स्टिकर कर पनि तिरेका छौँ। मकवानपुर जिल्लाभित्र मात्र चल्ने अनुमति लिएर सञ्चालन गरिरहेका छौँ। तर अवैध रूपमा रातो नम्बर प्लेटका अटोले यात्रु बोक्दा हुने सबै दोष हामीमाथि आउँछ,” उनले भने।

यसैबीच राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरका अध्यक्ष प्रचण्ड राजथलाले सरकारले रातो नम्बर प्लेटका अटोको अवैध सञ्चालनलाई तत्काल रोक्नुपर्ने माग गरे।

“कालो नम्बर प्लेटका अटोले यात्रु नपाउने र रातो नम्बर प्लेटले मात्र खुलेआम मान्छे बोक्ने अवस्था बनाइयो भने हाम्रो संगठन कडा आन्दोलनमा उत्रिन्छ,” उनले चेतावनी दिए।

हेटौँडामा देखिएको यो समस्या सवारी नियम उल्लङ्घन मात्र नभई वैध रूपमा व्यवसाय गरिरहेका चालकहरूको रोजीरोटीमाथिको गम्भीर हस्तक्षेप भएको सरोकारवालाहरूको भनाइ छ। अब यस विषयमा स्थानीय सरकार, प्रशासन र ट्राफिक प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।


Facebook Comments