कलैयाको त्रैमासिक प्रगति: बढ्यो बजेटको आकार, खर्चमा छैन सोचेजस्तो सुधार

प्रशासनिक काम सन्तोषजनक, विकास खर्चमा ‘कछुवा’ गति

User Image जनेश ठकुल्ला | २०८२ पुष १५ गते १४:३२
Image of https://mayorsap.com/storage/photos/shares/kaliya.png
तस्बिर : राहुलकुमार ढकाल/मेयरसाप

काठमाडौं । बाराको कलैया उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिकमा बजेट खर्चमा अपेक्षित प्रगति हासिल गर्न सकेको देखिँदैन । उपमहानगरले सार्वजनिक गरेको पहिलो त्रैमासिक प्रगति विवरण अनुसार, गत वर्षको तुलनामा यस वर्ष बजेटको आकार बढाए पनि पुँजीगत खर्च खस्किएर १० प्रतिशतभन्दा तल खुम्चिएको छ ।

कलैया उपमहानगरको चालू आर्थिक वर्षको वार्षिक बजेट १ अर्ब ९२ करोड ६८ लाख ७६ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासिक सकिँदासम्म उपमहानगरले २७ करोड ३० लाख ८९ हजार रुपैयाँ मात्र खर्च गरेको छ । यो खर्च कुल वार्षिक बजेटको १४.१७ प्रतिशत हुन आउँछ ।

उपमहानगरले यो वर्ष विकास निर्माणका लागि ७६ करोड ६८ लाख ५३ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । तर, पहिलो त्रैमासिकमा उपमहानगरले जम्मा ७ करोड ६२ लाख ६८ हजार रुपैयाँ मात्र खर्च गरेको देखिन्छ । जुन कुल पुँजीगत बजेटको ९.९४ प्रतिशत हो । यस्तै, वार्षिक १ अर्ब १६ करोड २२ हजार चालू बजेटमध्ये २७ करोड ८ लाख ७६ हजार रुपैयाँ खर्च भएको उपमहानगरले देखाएको छ । यो कुल चालू बजेटको २३.३५ प्रतिशत हुन आउँछ ।

उपमहानगरको गत आर्थिक वर्षको बजेट १ अर्ब ६३ करोड ९३ लाख ९७ हजार रुपैयाँ थियो । गत वर्षको पहिलो त्रैमासिकमा उपमहानगरले २९ करोड ३१ लाख १० हजार रुपैयाँ खर्च गरेको थियो । जुन कुल वार्षिक बजेटको १७.८७ प्रतिशत हो । तुलनात्मक रूपमा हेर्दा, कलैया उपमहानगरमा गत वर्ष भन्दा चालू आर्थिक वर्षमा समग्र बजेट खर्चमा नै गिरावट आएको छ । गत वर्ष यो वर्ष भन्दा बजेट कम हुँदा पनि पहिलो त्रैमासिकमा खर्च बढी गरेको थियो । तर, यो वर्ष अघिल्लो वर्षभन्दा बजेट बढी भए पनि खर्च १४ प्रतिशतमा खुम्चिएको छ ।

गत वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष पुँजीगत र चालू दुवै खर्चमा गिरावट आएको देखिन्छ । गत आर्थिक वर्षमा उपमहानगरले चालूतर्फ ९८ करोड ६४ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको थियो । पहिलो त्रैमासिक सकिँदासम्म २६.७८ प्रतिशत खर्च भएको थियो । यस्तै, उपमहानगरले पुँजीगत बजेटतर्फ ७६ करोड ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो त्रैमासिक सकिँदासम्म १२.३३ प्रतिशत खर्च भएको थियो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले पहिलो त्रैमासिकमा बजेट खर्चको लक्ष्य भेट्टाउन नसकिएको स्वीकार गर्दै यसका पछाडि केही व्यावहारिक कारण रहेको बताए । ‘हामीले पहिलो त्रैमासिकमा जुन स्तरको खर्च र प्रगतिको लक्ष्य राखेका थियौँ, त्यस अनुसार काम नभएको सत्य हो’, उनले भने, ‘तर यसलाई पूर्ण रूपमा निराशाजनक भन्न मिल्दैन, किनकि गत वर्षको यही अवधिको हाराहारीमै कामहरू गरेका छौँ ।’

अधिकृत साहले अगाडि थपे, ‘आर्थिक वर्षको सुरुवाती चरण भएकाले नयाँ योजनाहरूको तयारी, लागत अनुमान र प्रशासनिक प्रक्रियाहरू मिलाउँदा केही समय अन्योल हुनु स्वाभाविक हो । त्यसमाथि बीचमा भएको जेन–जी आन्दोलनका कारण नियमित काम र योजना कार्यान्वयनको वातावरणमा प्रत्यक्ष असर पर्‍यो ।’

दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्वहरू यही समयमा हुने भएकाले निर्माण व्यवसायी र कर्मचारीको कार्य तालिकामा प्रभाव पर्दा सोचेअनुसार भौतिक प्रगति हासिल गर्न नसकेको उनी बताउँछन् । यद्यपि, दोस्रो त्रैमासिकदेखि विकास निर्माणका काम र नियमित सेवा–प्रवाहमा लक्ष्य भेटाउने गरी काम भइरहेको उनको तर्क छ ।

कुन क्षेत्रमा कति खर्च?
उपमहानगरले यस वर्ष आर्थिक विकासको क्षेत्रमा वार्षिक ४ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । पहिलो त्रैमासिक सकिँदासम्म आर्थिक विकासको क्षेत्रमा उपमहानगरले ५ लाख ९२ हजार मात्रै खर्च गरेको देखाएको छ । जुन कुल बजेटको १.४५ प्रतिशत हुन आउँछ ।

यो आर्थिक वर्ष सामाजिक विकासको क्षेत्रमा उपमहानगरले वार्षिक ७६ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको थियो । उपमहानगरले पहिलो त्रैमासिक सकिँदासम्म १२ करोड ५४ लाख १० हजार मात्रै खर्च गरेको छ । जुन कुल बजेटको १६.४७ प्रतिशत हो ।

यस्तै, उपमहानगरले पूर्वाधार विकास क्षेत्रमा वार्षिक ६८ करोड ८ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो त्रैमासिक सकिँदासम्म उपमहानगरले ५ करोड ६७ लाख ५७ हजार मात्रै खर्च गरेको देखाएको छ । जुन कुल बजेटको ८.७२ प्रतिशत हुन आउँछ ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा उपमहानगरले १ करोड ८२ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो त्रैमासिक सकिँदा पनि उपमहानगरले ७ लाख ६८ हजार रुपैयाँ मात्र खर्च गरेको देखिन्छ । जुन कुल बजेटको ५.४ प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ उपमहानगरले ४५ करोड ९५ लाख ८१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिलो त्रैमासिक सकिँदासम्म उपमहानगरले ८ करोड ९५ लाख ६१ हजार रुपैयाँ खर्च गरेको देखाएको छ । जुन कुल बजेटको १९.४८ प्रतिशत हुन आउँछ ।

प्रशासनिक काममा चुस्तता
कलैया उपमहानगरले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेटको आकार बढाए पनि पुँजीगत खर्चको लक्ष्य भेटाउन भने निकै संघर्ष गरिरहेको देखिन्छ । यद्यपि, पुँजीगत बजेट खर्च कछुवा गतिमा देखिए पनि नागरिकको दैनिक सेवा–प्रवाह र प्रशासनिक काममा भने उपमहानगरले गत वर्षको हाराहारीमै सफलता हात पारेको छ ।

उपमहानगरको कर्मचारी प्रशासन शाखाले यस अवधिमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको दैनिक हाजिरी, मासिक तलबी प्रतिवेदन तयार गर्ने, बिदा सिफारिस र कर्मचारी खटनपटनका कार्यहरूलाई व्यवस्थित बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेका उजुरी सम्बन्धी कागजातहरूको तयार र पत्राचारका कार्यहरू पनि चुस्त रूपमा गरिएका छन् ।

यस्तै, कार्यपालिका र कर्मचारी बैठकहरूको नियमित सहजीकरण गर्दै विभिन्न प्रशासनिक सिफारिस, सभा, गोष्ठी र कार्यक्रम सञ्चालनमा उपमहानगरले सक्रिय भूमिका निर्वाह गरेको छ । दर्ता चलानी शाखाले गत साउन १ देखि असोज ३१ गतेसम्मका विभिन्न निवेदन तथा पत्रहरू दर्ता गरी हुलाकमार्फत वा मातहतका कार्यालयहरूमा समयमै सम्प्रेषण गरेको छ ।

नागरिक लक्षित कार्यक्रम
कृषि र पशुपालनका क्षेत्रमा पनि उपमहानगरले उत्साहजनक काम गरेको छ । पशु विकास शाखाले वार्षिक प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउनुका साथै नियमित पशु सम्बन्धी सिफारिस र पशुपन्छीका लागि चिकित्सक सल्लाह दिने काम गरिरहेको छ ।

कृषि विकास शाखाले रासायनिक मल बिक्रेताहरूको नवीकरण र कृषक समूहहरूको दर्ता तथा नवीकरण गरेको छ । अनुदानको रासायनिक मल बाँडफाँड, धान खेतीको फिल्ड अनुगमन र कृषि सिँचाइ मिटरका लागि सिफारिस दिने कार्यहरू सम्पन्न भएका छन् । साथै, वर्षाको पानीबाट क्षति भएको धान, उखु र तरकारी बालीको डाटा सकंलन गरी राहतका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

महिला तथा बालबालिका शाखाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्ययोजना तयार गरी वार्षिक प्रगति प्रतिवेदन मन्त्रालयमा पठाएको छ । महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि ‘सिफारिस प्रणाली सम्बन्धी निर्देशिका २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । पहिलो त्रैमासिकमा उपमहानगरले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता परिचयपत्र र ज्येष्ठ नागरिक परिचयपत्र कार्ड वितरण गर्ने कार्यलाई प्रभावकारी बनाएको छ ।

स्वास्थ्य सेवामा प्रभावकारी काम
स्वास्थ्य शाखाले यस अवधिमा हैजा रोगविरुद्धको खोप अभियान र सरोकारवालाहरूको अभिमुखीकरणलाई प्राथमिकताका साथ सम्पन्न गरेको छ । नगरवासीहरूलाई खोप लगाउनुका साथै खोप समन्वय समिति र सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रमहरू आयोजना गरिएको छ । स्वास्थ्य संस्थाका प्रमुखहरू र स्वयंसेविकाहरूलाई तालिम तथा अभिमुखीकरण प्रदान गरी सेवा प्रवाहमा सहजीकरण पनि गरिएको छ ।

निजी स्वास्थ्य क्लिनिक र अस्पतालहरूको व्यवस्थापन गर्दै स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । क्यान्सर पीडितहरूलाई पहिलो चौमासिकको भत्ता समयमै उपलब्ध गराइएको छ, भने मुटु, मिर्गौला र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई विपन्न सिफारिस उपलब्ध गराई उपचारमा सहजीकरण गरिएको छ ।

यता, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले लाभग्राहीहरूको दर्ता, नवीकरण र लगत कट्टा गर्ने काम अनलाइन मार्फत वडा तहबाटै हुने व्यवस्था मिलाएको छ, भने गैरसरकारी संस्थाहरूको सूचीकरण र अनुगमन कार्यलाई पनि नियमित गरिएको छ ।

पूर्वाधार विकास र अतिक्रमण नियन्त्रण
भौतिक पूर्वाधार तथा योजना शाखातर्फ नगर र वडा स्तरीय योजनाहरूको सम्झौता भई कार्यान्वयन सुरु भएको छ । बिग्रिएका सडकहरूको नियमित मर्मत हुनुका साथै वर्षाको समयमा ढल, नहर र पानी निकासको व्यवस्थापन गरी नगरवासीको दैनिकी सहज बनाइएको छ ।

उपमहानगरले भवन मापदण्ड विपरीत बनाइएका संरचनाहरू भत्काउने र सरकारी सम्पत्ति अतिक्रमण हटाउने कार्यलाई कडाइका साथ अघि बढाएको छ । कलैया हाटबजार सौन्दर्यीकरण, कृषि बजारमा शौचालय निर्माण र वडा नं. १६ को कार्यालयको पूर्वाधार निर्माण जस्ता कार्यहरू सम्पन्न भएका छन् । साथै, विभिन्न स्थानमा डिप बोरिङ, मोटर र ट्याङ्की जडानका कामहरू पनि भएका छन् ।

सूचनामा पारदर्शिता, शिक्षामा सुधार
सूचना प्रविधि शाखाले उपमहानगरको वेबसाइट र फेसबुक पेजमार्फत सूचनाहरूलाई नियमित सार्वजनिक गर्दै आएको छ । वडा कार्यालय, स्वास्थ्य केन्द्र र विद्यालयहरूमा इन्टरनेट सेवा व्यवस्थित गरिएको छ ।

राष्ट्रिय खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमार्फत ठेक्कापट्टाका कामहरूलाई पारदर्शी बनाइएको छ । उपमहानगरका ऐन, नियमावली, निर्देशिका र कार्यविधिहरूलाई राजपत्रको ढाँचामा वेबसाइटमार्फत सार्वजनिक गरी सूचनाको हकको प्रत्याभूति गरिएको छ ।

शिक्षातर्फ विद्यालयहरूको नियमित अनुगमन, विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक नियुक्ति तथा पदस्थापनका कार्यहरू भएका छन् । विद्यालय सुधार योजना निर्माण, दिवा खाजाको रकम निकासा र सेनेटरी प्याड वितरणको अनुगमनले छात्राहरूको उपस्थिति दर बढाएको छ । उपमहानगरले कारखाना समूहको सहयोगमा २० वटा माध्यमिक विद्यालयमा छात्राहरूका लागि आइसिटी सम्बन्धी कार्यक्रमहरू समेत सञ्चालनमा ल्याएको छ ।

यसका साथै, वातावरण तथा विपद् व्यवस्थापन शाखाले नगरको ट्राफिक व्यवस्थापन र नयाँ बसपार्क सञ्चालनलाई व्यवस्थित बनाएको छ । धुलो प्रदूषण रोक्न सडकमा पानी छर्कने, सरसफाइकर्मीको तलब भुक्तानी र चाडपर्वमा पोखरी तथा मठमन्दिर सरसफाइका कार्यहरू गरिएका छन् ।

कलैया उपमहानगरले पहिलो त्रैमासिकमा प्रशासनिक काम र सेवा प्रवाहलाई चुस्त बनाउन खोजे पनि विकास बजेट कार्यान्वयनमा भने निराशाजनक देखिएको छ । पहिलो त्रैमासिकमा देखिएको सुस्तता दोस्रो त्रैमासिकमा पूर्ति गर्नुपर्ने उपमहानगरको मुख्य चुनौती र आवश्यकता देखिन्छ ।


Facebook Comments